•  २२ बैशाख २०८१, शनिबार
  •  2:57:59 AM

प्रेमी भेट्न चिनियाँ महिला पुगिन् पाकिस्तान, प्रहरीले दियो सुरक्षा

- श्रावण १२, २०८० मा प्रकाशित


एजेन्सी । आजकल सीमापार प्रेम कथाहरू चर्चामा छन् । पाकिस्तानी सीमा हैदर र भारतीय अन्जुको चर्चा परिचर्चा भईरहेको बेला एक चिनियाँ महिलाको प्रेम कथा बाहिर आएको छ । पाकिस्तानी प्रहरीले बिहीबार एक चिनियाँ महिला आफ्नो प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा प्रान्त पुगेकी बताएको छ । उनीहरूको सामाजिक सञ्जालमा भएको मित्रता प्रेममा परिणत भएको थियो ।

चिनियाँ महिलाको नाम सुन गाओ फेङ भनिएको छ, जो २१ वर्षकी छिन् र यी महिलाको प्रेमीको नाम जावेद हो । यी दुई प्रेमीहरूको विशेष कुरा के छ भने भरत अन्जुको फेसबुक प्रेमी खैबर पख्तुनख्वाको अपर दिर जिल्लामा बस्छन् र यी चिनियाँ महिलाको प्रेमी तल्लो दिर जिल्लामा बस्छन् ।

मिडिया रिपोर्टका अनुसार चीनका गाओ फेङ तीन महिनाको पर्यटक भिसामा चीनबाट गिलगिट हुँदै सडक मार्गबाट बुधबार इस्लामाबाद पुगेकी थिइन् । प्रहरीका अनुसार जावेद मूल रूपमा खैबर पख्तुनख्वाको आदिवासी बाहुल्य क्षेत्रमा पर्ने बाजौर जिल्लाका बासिन्दा हुन् । अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लाको सुरक्षा अवस्थाका कारण जावेदले ती महिलालाई गृह नगरको सट्टा तल्लो दिर जिल्लाको समरबाग तहसीलमा रहेको आफ्नो मामाको घरमा लगेका थिए ।

प्रहरीले ती महिलाको यात्रा कागजात सही रहेको र जावेदसँग विवाह नगरेको बताएको छ । यद्यपि केही मिडिया रिपोर्टमा चिनियाँ महिलाले इस्लाम धर्म स्वीकार गरेको बताइएको छ । तल्लो दिरका जिल्ला प्रहरी अधिकारीले चिनियाँ महिलालाई सुरक्षा प्रदान गरिएको र सुरक्षाको चिन्ताका कारण उनको आवतजावतमा प्रतिबन्ध लगाइएको बताए । जावेद र फ्याङले सामाजिक सञ्जाल एप स्न्यापच्याटमा भेटे र तीन वर्षसम्म सम्पर्कमा रहे पछि उनीहरू गहिरो प्रेममा परेका थिए ।

Comments

सम्बन्धित खवर