•  २ जेष्ठ २०८१, बुधबार
  •  9:42:27 AM

कोशीमा ६ महिना नपुग्दै ढल्यो एमालेको सरकार, कार्कीले पाएनन् विश्वासको मत : पक्षमा ४६ र विपक्षमा ४३ मत

- असार १५, २०८० मा प्रकाशित


बिराटनगर । सरकार गठन भएको ६ महिना नपुग्दै कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् ।

विश्वासको मतका लागि प्रदेशसभामा आज (शुक्रबार) भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले ४६ मत मात्रै पाएका छन् । बहुमतका लागि ४७ मत आवश्यक थियो । गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत खस्यो । बैठकमा ८९ सांसद उपस्थित थिए ।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । उनले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष र विपक्षमा दलहरू विभाजित भएका थिए । उनले सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाटम मात्रै विश्वासको मत प्राप्त गरे । यसअघि गत पुस २४ गते मुख्यमन्त्री नियुक्त हुँदा कार्कीले माओवादी र जसपाको पनि समर्थन पाएका थिए ।

विपक्ष गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने बैठकमा उपस्थित भएन । ९३ सदस्यीय प्रदेशसभामा जसपाबाट एक्ली सांसद प्रदेशसभा सदस्य निर्मला लिम्बू छिन् । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री बनेकी थिइन् । जेठ २७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लिम्बूको मन्त्री पद गुमेको थियो ।

माओवादीले सरकारलाई दिएको समर्थन जेठ २३ गते फिर्ता लिएको थियो । सत्तारुढ दल माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । विश्वासको मत प्रयोजनका लागि बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बसेको थियो । प्रदेश सभामा सत्तारुढ एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । प्रतिपक्षी कांग्रेसका २९, माओवादीका (सभामुख) बाहेक १२, समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

Comments

सम्बन्धित खवर