•  २ जेष्ठ २०८१, बुधबार
  •  9:24:16 AM

पहिरोले कान्ति लोकपथ अवरुद्ध

- असार १५, २०८० मा प्रकाशित


मकवानपुर । काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडाको यातायात अवरुद्ध भएको छ ।

मकवानपुर जिल्लाको सीमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो वर्षा भइरहेको कारणले मौसम सुधार भएमा मात्रै हटाउन सकिने भएको ललितपुर प्रहरीले जानकारी दिएको बताइएको छ । यता हेटौँडाबाट काठमाडौँ जान हिँडेको हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेर यातायात नखुलेसम्म लामबद्ध गरी रोकिराखेको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताएका छन् ।

यसैगरी चितवन जिल्लाको मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ आएका सबै सवारीसाधनलाई धादिङ नौबीसेको त्रिभुवन राजपथबाट सवारीसाधन गए रातिदेखि सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

यसैगरी पश्चिमबाट आएका विभिन्न सवारीसाधन पनि हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी र चित्लाङ थानकोट सडकमा पनि अहिले दैनिक सवारीसाधन सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

Comments

सम्बन्धित खवर