•  ३ जेष्ठ २०८१, बिहीबार
  •  11:43:37 AM

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका

- जेष्ठ १७, २०८० मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) चार दिने भारत भ्रमणमा जाँदैछन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने समय तालिका रहेको छ । गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत जाँदैछन् । यो उनको पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।

उनले भोलि जेठ १८ गते बिहान ११ बजे भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । अपरान्ह ४ बजे मौलाना आजाद रोडमा रहेको कार्यालयमा उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नेछन् । जेठ १९ गते अपरान्ह ४ः३५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति दौपदी मुर्मुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाललगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको भन्दै मन्त्री साउदले आमनिर्वाचनपछि प्रधानमन्त्रीको हुन लागेको उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ट हुने विश्वास व्यक्त गरे । ‘सरकारका तर्फबाट पर्याप्त तयारी गरेका छौँ । यो तयारीबाट प्रधानमन्त्रीले सरकारको दरिलो प्रतिनिधित्व गर्नु हुनेछ,’ उनले भने, ‘उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ट हुनेछ ।

मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार विस्तारको एजेन्ण्डालाई महत्व दिइने बताए । विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालको ट्रान्समिसन लाइन बनाएर विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँग पनि विद्युत् व्यापारको आधार तयार गर्ने कोसिस गरिने उनले बताए । ‘भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय छ,’ उनले भने ।

नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्न विद्युत् बिक्री हुने बजार सुनिश्चित गर्नु महत्वपूर्ण विषय रहेको बताए । ‘यो कुरालाई दृष्टिगत गरेर भारतसँग दीर्घकालीन रूपमा ऊर्जाको व्यापार गर्न कोसिस गरिरहेका छौँ । जसले नेपालमा अर्बाैँ लगानी गरेर विद्युत् उत्पादन गरिसकेपछि त्यसको उत्पादनको बिक्रीमा लगानीकर्ता आश्वस्त हुन सकून्,’ उनले भने । तीन–चारवटा ट्रान्समिसन लाइन बनाउने र त्यसपछि विद्युत् व्यापार प्रभावकारी रूपमा हुने गरी अगाडि बढ्ने प्रयत्नमा आफूहरू रहेको उनको भनाइ थियो ।

नेपाल भूपरिवेष्टित देश भएकाले भारतसँग ट्रान्जिट सन्धि अति महत्वपूर्ण रहेको भन्दै मन्त्री साउदले भ्रमणमा सन्धि संशोधनलाई अन्तिम रूप दिने प्रयत्न गरिने बताए । उनले भने, ‘खुला सीमाना रहेको भारतसँग व्यापार घाटा छ । त्यसैले हाम्रो कृषि उत्पादनको भारतीय बजारसँग पहुँच हुन सकोस् भनेर आग्रह हुनेछ ।’

ट्रेड सन्धि अद्यावधिक गर्न दुई देशका अधिकारीबीच छलफल भइरहेको भन्दै मन्त्री साउदले निष्कर्षमा पु¥याउन सके व्यापार सरलीकृत हुने बताए । यसका लागि उद्योग वाणिज्य क्षेत्रलाई पनि भ्रमणमा समावेश गरिएको र भारतीय लगानीकर्तासँग सम्भावनाबारे छलफल हुने बताए ।

कनेक्टिभिटीको क्षेत्रमा रक्सौल–वीरगन्ज–सिमरा नाका ज्यादै व्यस्त रहेको भन्दै त्यसको विकल्पमा नयाँ व्यापारिक नाकाका लागि सम्भाव्य ठाउँबारे भारतसँग छलफल भइरहेको उनले जानकारी दिए । ‘विशेष गरी महेन्द्रनगर, नेपालगन्ज र भैरहवा तथा विराटनगरलगायत विभिन्न नाकाबारे कुरा गरिरहेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धि आउने विश्वास लिएका छौँ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेश र उत्तराखण्ड राज्य जोड्ने महाकाली नदीमा पक्की पुलहरू बनाउने सहमति कार्यान्वयनमा ठोस पहलकदमी हुने मन्त्री साउदको भनाइ छ । भ्रमणका क्रममा नेपालगन्ज चेकपोस्ट (आइसिपी) उद्घाटन गर्ने र केही सुक्खा बन्दरगाह शिलान्यास गरेर अगाडि बढाउने तयारी रहेको पनि उनले जानकारी गराए ।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने उनले बताए । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउनेबारे पनि छलफल हुने र एयर रुट प्राप्त गर्न सकारात्मक वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

भारतसँग थाती रहेका सीमादेखि रहेर अरू मुद्दामा नेपालले आफ्नो दृष्टिकोण राख्ने मन्त्री साउदले जानकारी दिए । दुई देशका विभिन्न तहका कमिटी र वर्किङ ग्रुपले विविध सम्बन्धमा काम गरिरहेको भन्दै तत्काल गर्न सकिने र दीर्घकालीन काम छुट्याएर अघि बढ्ने समझदारी बनेको पनि उनले सुनाए ।

नेपाल र भारतका प्रधानमन्त्रीको तहमा हुने वार्ताको एजेण्डाबारे दुई देशका अधिकारीबीच मंगलबार भारतीय विदेश मन्त्रालयमा छलफल भएको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदी र भारततर्फको नेतृत्व विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने उत्तर डिभिजन प्रमुख अनुराग श्रीवास्तवले गरेका थिए । उनीहरूबीच बुधबार पनि छलफल हुनेछ ।

नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले ऊर्जा, कनेक्टिभिटी, विकासमा नेपाल र भारतबीच गम्भीरतापूर्वक छलफल हुनुपर्ने बताए । ‘विवादका विषयभन्दा पनि दुई देशलाई हित हुने विषयमा छलफल हुनुपर्छ । ऊर्जा सहकार्यलाई प्राथमिकतामा राखेर दुई देशको नेतृत्वबीच छलफल हुनुपर्छ,’ उनले भने ।

अग्निपथ योजनाले असर गरेको गोर्खा भर्तीका विषयमा छलफल गर्ने मुडमा यतिवेला नेपाल र भारत दुवै देखिँदैनन् । तीन वर्षयता भारतीय गोर्खा सेनामा नेपाली युवाको भर्ती रोकिएको छ । हरेक वर्ष कम्तीमा एक हजार तीन सय नेपाली युवाको भारतीय सेनामा भर्ती हुँदै आएको थियो ।

यस्तो छ दिल्लीमा तयारी

बुधबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्दैछन् । प्रचण्ड–मोदीबीच वार्ता बिहीबार बिहान हैदराबाद हाउसमा हुनेछ । प्रधानमन्त्री प्रचण्डसहितका प्रतिनिधिमण्डललाई चाणक्यपुरीको आइसिटी मौर्य होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ ।

Comments

सम्बन्धित खवर