सगरमाथा चुचुरोबाट ‘छाउपडी प्रथा अन्त्य’ को सन्देश
- जेष्ठ १६, २०८० मा प्रकाशित
बझाङ । बझाङको साइपाल गाउँपालिका–४ धुलीकी संगीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’ को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् । २६ वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।
सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँशु थाम्न सकिनँ’, उनी भन्छिन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्वीर खिच्दा खुशीको सीमा नै नरहेको उनले सुनाइन् ।
रोकायाले विसं २०७५ कात्तिकमा पहिलो पटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।
शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन’, उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।’ मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो ।
उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।’ एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख खर्च लागेको उनले बताइन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments