•  २४ बैशाख २०८१, सोमबार
  •  1:47:09 AM

खोटाङका जङ्गलमा लगातार डढेलो

- चैत्र १७, २०७९ मा प्रकाशित


खोटाङ । खोटाङका हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न आधा दर्जन बढी सामुदायिक वन समूहको जंगलमा ३ दिनयता लागेको डढेलो नियन्त्रणबाहिर गईसकेको स्थानीयले बताएका छन् ।सोमबार रातिदेखि लागेको डढेलोले खानेपानी पाइप जलाउनुका साथै आधा दर्जन मानव बस्तीहरुसमेत जोखिममा पारेको छ ।

हतुवागढी  विभिन्न ७ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न नसक्दा पाइप जलाउनुका साथै बस्तीसमेतलाई जोखिम हुँदै गएको स्थानीयले बताएका छन् ।स्थानीय मञ्जु राईका अनुसार नगरपालिका ८ को चौतारा सामुदायिक वनबाट ३ दिनअघि लागेको डढेलोले सोही वडाको स्थानीय भालु खोलाबाट गाउँतर्फ ल्याइएको खानेपानी योजनाको झण्डै २ हजार मिटर पाइप जलाएर नष्ट गरेको छ । धितुङबासीका लागि सञ्चालित खानेपानी योजनाको तीनसल्ले–जयभद्रे खण्डको पाइप डढेलोले जलाएर क्षति पुगेको उनले बताइन् ।

प्रत्यक्षदर्शी स्थानीय उपभोक्ताका अनुसार डढेलाले पाइप जलाएपछि खानेपानीको हाहाकार हुन थालेको छ । चुना मिसिएको पानी भएकाले बेलाबेलामा टक्टक्याउन भनेर माटोमुनि नबिछ्याई बाहिरै छाडिएको पाइप डढेलोले जजाएको हो । अहिलेसम्म पाइपमा मात्र क्षति गरेको डढेलो नियन्त्रणबाहिर गइसकेकाले आसपासका ४–५ गाउँ बस्ती जोखिममा परेका छन् । चौतारा जङ्गलको डढेलोले मान्छे बस्न छाडेको एउटा रित्तो घरसमेत जलाएको छ ।

त्यो सँगै आसपासका जयभद्रे, तीनसल्ले, हात्ती आहाल, रातेखोला र चिचिरा बस्तीका झण्डै ५० घरधुरी स्थानीयलाई जोखिममा परेको छ। जयभद्रेमा ४ घरधुरी बसोबास गर्दै आएका छन् भने हात्तीआहालमा ७, तीनसल्लेमा ८, चिचिरामा ११ र रातेखोलामा १७ घरधुरीको बसोबास रहेको छ । डढेलो बस्तीतर्फ आउन थालेपछि स्थानीयहरु असुरक्षित महसुस गर्दै आगो नियन्त्रण गर्न लाग्दा एक जना घाइतेसमेत भएको बताइएको छ ।

डढेलो बस्तीतर्फ आउन नदिन स्थानीयवासीले जनप्रतिनिधि गुहार्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । तर, एक जना घाइते भए पनि अरु गाउँलेहरूको टोली बुधबार दिउँसोसम्म लाग्दा पनि डढेलो नियन्त्रण गर्न सफल भएका छैनन् । चौताराको डढेलोले बस्ती जोखिममा पादै गर्दा यता हतुनपाकै ११ नं. वडामा पर्ने आधा दर्जन वन समूहमा पनि डढेलो सल्केको बताइएको छ । स्थानीयका अनुसार महाकाल सामुदायिक वन, भालुढुंगा, फुस्रेकाल्ला, देब्रेघारी, नमूना र असोजे सामुदायिक वन क्षेत्रमा पनि डढेलो लागेर रुखपात र वन जंगल क्षति भइरहेको छ ।

डिभिजन वन कार्यालय खोटाङका अधिकृत जगदिश रेग्मीले भने डढेलो लागेकोबारे आफूलाई जानकारी नभएको बताए । अहिले जिल्लामा डढेलो लागेको भन्ने कुरा आफूलाई कसैले नभनेको भन्दै अब यसबारे बुझ्ने उनले बताए । सब–डिभिजन वन कार्यालय हलेसीका प्रमुख सहायक वन अधिकृत रामसागर मण्डलले केही ठाउँमा डढेलो लागेको पुष्टि गरे पनि मानव बस्ती जोखिम भएको तथा खानेपानीको पाइप जलेको कुराबारे अनविज्ञता प्रकगट गरे ।

कतैकतै डढेलो लागेको खबर आएको तर, यति धेरै ठाउँमा लागेको कुराबारे थाहा नभएको उनले बताए । डढेलो नियन्त्रण गर्न वन कार्यालयले प्रचार प्रसार र सहजीकरण मात्र गर्ने, बाँकी सबै काम स्थानीयतहहरुले गर्ने भएकाले नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने मण्डलले बताए ।

Comments

सम्बन्धित खवर