•  २ जेष्ठ २०८१, बुधबार
  •  10:14:52 AM

यि १५ जना : जसकाे प्रदेश एकमा पुनःसंसद हुने सपना सकियाे

- मंसिर १२, २०७९ मा प्रकाशित


 इटहरी । प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आइसकेको छ । अन्य ८ वटाको अन्तिम मतपरिणाम आउन बाँकी रहँदा एउटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु नै भएको छैन ।

एमाले एक्लैले २१ मा विजयी भइसकेको छ भने अझै ३ वटामा अग्रता कायम राखेको छ । नेपाली काँग्रेस भने हालसम्म १३ वटामा विजयी हुँदा ४ वटामा मात्रै अग्रता लिएको छ । उता सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रले ९ वटामा विजय हासिल गरेको भने नेकपा एसले ३ वटामा जित हासिल गरेको छ । एमाले गठबन्धनमा रहेको राप्रपाले २ वटामा विजय हासिल गरेको छ । हालसम्म अघिल्लो पटक प्रदेश १ सांसद बनेका र पुनः दोहोर्याउन चाहने १५ जना भने पराजित भएका छन् ।

पराजय व्यहोर्ने प्रदेशका निवर्तमान सांसदहरू

प्रदेश १ को मुख्यमन्त्रीकै चाहना राखेर प्रदेशसभामा आउन चाहने नेपाली काँग्रेसका नेता राजिव कोइराला यस पटक सुनसरी २ (२)बाट पराजित बने । उनी अघिल्लो संसदमा काँग्रेसबाट संसदीय दलका नेता थिए ।

कोइराला मात्रै होइन मुख्यमन्त्रीको चाहना राख्ने एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट काँग्रेस नेता भीम पराजुलीसँग पराजित बने । निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (१)बाट पराजित बनिन् । उनी अघिल्लो पटक माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै अघिल्लो कार्यकालमा ओखलढुंगा १ बाट संसदयात्रा तय गर्दै मन्त्रीसमेत बनेका एमाले नेता अम्बिरबाबु गुरुङ यसपटक पराजित बने । यस्तै एमालेबाटै सांसद बनेका उत्तमकुमार बस्नेत साविक निर्वाचन क्षेत्र सोलुखुम्बुको १ बाट पराजित बन्दा प्रदेश १ का यातायात तथा संचारमन्त्री समेत रहेका उपेन्द्र प्रसाद घिमिरे अघिल्लो निर्वाचन क्षेत्रबाट विजय भएपनि यस पटक सोही निर्वाचन क्षेत्रमा पराजित बने ।

माओवादी नेता कुशल लिम्बूका लागि मोरङ १ (१) बाट पुनः दोहोर्याउने लक्ष्य पुरा हुन सकेन भने यसअघि समानुपातिक सांसद बनेकी माओवादी नेतृ कुशुमकुमारी श्रेष्ठका लागि धनकुटा २ बाट प्रत्यक्ष सांसद जित्ने योजना अधुरै रहयो ।

हालका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव साविककै निर्वाचन क्षेत्र मोरङ ५ (२)बाट पराजित बनेसँगै उनको संसद यात्रा पनि रोकिएको छ । यस्तै प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगरको संसद यात्रा ५ वर्षका लागि रोकिएको छ । उनी झापा ४ (१)बाट ०७४ सालमा विजयी बन्दा यस पटक पराजित बने । एमाले नेता तेजमान कन्दङ्बा तेह्रथुम २, माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (२), एमालेबाट बसन्तकुमार बानिया पनि झापा ३ (१) बाट पराजित बने ।

अघिल्लो संसदमा एमालेबाट समानुपातिक सांसद बनेकी बसन्तीदेवी यादव यसपटक एमाले छोडेर मोरङ ५ (२)बाट प्रत्यक्षमा प्रतिस्पर्धा गरेपनि पराजित बनिन् । अघिल्लो कार्यकालमा समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एसकी नेतृ सरिता थापा पनि यसपटक संखुवासभा २ बाट पराजित बनिन् ।

प्रदेश १ मा यसअघि प्रतिनिधित्व गर्ने ९३ जना सांसदमध्ये ६५ जनामध्ये एमाले नेता जगदिशप्रसाद कुसियैत, भीम आचार्य, शेरधन राई तथा माओवादी नेता रामकुमार राई भने संघीय सांसदको प्रतिस्पर्धामा थिए । एमाले नेताहरू कुसियैत सुनसरी ४, आचार्य सुनसरी २, राई भोजपुरबाट प्रतिस्पर्धा गरेका छन् । उनीहरुमध्ये आचार्य र कुसियैतले अग्रता लिएपनि शेरधन राई पराजित बनेका छन् भने माओवादी नेता रामकुमार राई पनि खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । ०७४ सालमा प्रदेश १ प्रदेशसभामा आएका अन्य ६१ जना सांसदले भने संसदीय प्रतिस्पर्धामा भागै लिएनन् ।

Comments

सम्बन्धित खवर