•  २ जेष्ठ २०८१, बुधबार
  •  11:20:36 AM

प्रहरी दिवश २०७९ उत्कृष्ठ प्रहरी कर्मचारी र दिवंगत प्रहरीका परिवारलाई सम्मान

- कार्तिक १, २०७९ मा प्रकाशित


विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम गरी सोमबार ६७ औं प्रहरी दिवश मनाएको छ । अमर प्रहरीहरुलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै खेलकुद, स्वास्थ्य शिविर, रक्तदान, सार्वजनिक स्थल सरसफाइ, दिपावली आदि कार्यक्रम आयोजना गरेर प्रहरी दिवस मनाएको हो ।

सोमबार प्रदेश प्रहरी कार्यालयमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए भने उत्कृष्ठ प्रहरीहरुलाई पुरस्कार वितरण गरेका थिए । उनले कर्तव्यपालनाको सिलसिलामा गत वर्ष प्रदेश १ मा वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीको परिवार तथा विभिन्न स्थानमा प्रहरी कार्यालय स्थापना गर्न जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई नगद तथा कदरपत्रद्वारा सम्मान गरेका थिए ।

त्यस अवसरमा बोल्दै मन्त्री कार्कीले आम नागरिकको सुरक्षामा २४ सै घण्टा तल्लीन रहेको नेपाल प्रहरीले नेपाली जनताको विश्वास जित्न सफलल रहेको बताए । उनले प्रहरीले बदलिँदो परिस्थितिमा थप संवेदनशील भएर काम गर्नुपर्नेमा सचेतसमेत गराए । उनले उत्कृष्ठ कार्य गर्ने प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलालाई नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहद्वारा जारी गरिएको शुभकामना सन्देश वाचन गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी कर्मचारी तथा वहालवाला प्रहरीका उत्कृष्ट अंकसहित एसईई उतीर्ण गर्ने सन्तानहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । यस्तै प्रहरी दिवशको सन्दर्भमा आयोजित विभिन्न खेलमा उत्कृष्ट अंक ल्याउने खेलाडीहरुलाई प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश र्कोराला, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले शुभकामना व्यक्त गरे । उनीहरुले शान्तिसुरक्षा कायम गर्ने कार्यमा प्रहरी सफल हुने विश्वास व्यक्त गरेका थिए ।

त्यस अवसरमा प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बास्तोलाले अमर प्रहरी परिवारका परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मान गरिन् । साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य लाभको कामना गरिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी, अमर प्रहरी परिवार, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति थियो ।
यसैबीच प्रहरी दिवसको असवरमा यस वर्षको १ लाख रुपैयाँ राशीको आठौं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहरी सहायक निरीक्षक भक्तबहादुर विष्ट र प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । प्रदेशभरबाट उत्कृष्ट कार्य गर्ने प्रहरीको रुपमा उनीहरु छानिएका थिए ।

पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गरेका थिए भने कर्तव्य ज्यानजस्तो गम्भीर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेका थिए । यस्तै कर्सियाको बिपी चौकमा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न हतियारधारी समूहलाई कटुवा पेस्तोलसहित पक्राउ गरेका थिए ।

वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधिद्वारा नगद पुरस्कार प्रदान गर्ने गरिएको थियो । कार्यक्रममा साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. विक्रमप्रसाद श्रेष्ठले १ लाख रुपैयाँको चेक तथा प्रशंसा पत्र प्रदान गरे ।

यस्तै बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कारबाट ट्राफिक वरिष्ठ हवल्दार तुलसीप्रसाद पोखरेललाई प्रदान गरियो । यसै वर्षबाट शुरु भएको २५ हजार राशीको उक्त पुरस्कार प्रदेशबाट छानिएका उत्कृष्ट प्रहरी कर्मचारीलाई प्रदान गरिएको जानकारी दिइएको थियो । पुरस्कृत पोखरेलले स्थानीयको सहयोगमा इटहरी लगायत विभिन्न ११ स्थानमा जेब्राक्रस निर्माण गरेका थिए ।

पूर्व प्रहरी अधिकृत बिक्रम थापा गोदारले सडक दुर्घटनामा परी १८ वर्षको उमेरमा दिवंगत भएका छोराको स्मृतिमा पुरस्कार कोष स्थापना गरेपछि हरेक वर्ष एक जना ट्राफिक प्रहरीलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्न थालिएको हो ।

Comments

सम्बन्धित खवर