•  २ जेष्ठ २०८१, बुधबार
  •  8:56:32 PM

२७ वर्ष अघि नै सामान्य मान्छेलाई उद्यमी हुन सिकाएकी भगवती चौधरी यस कारण लाेकप्रिय छिन 

- आश्विन ३१, २०७९ मा प्रकाशित


इटहरी । फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ । जुन संस्थाको अहिले तीन लाख बढी सदस्य छन् भने ४० जिल्लामा विस्तार भएको छ । फरवार्डसँगै जोडिएर कयौंले भविष्य उजिल्याएका छन् । कतिपय भविष्य बनाउने योजनामा छन् । कुनै बेला एक सय नहुनेहरु अहिले सोही संस्थासँग जोडिएर करोडपति भएका छन्, उद्यम गरेका छन्, समुदायलाई सचेत गराएका छन् ।

सुन्दा अचम्म लाग्ला यो संस्था प्रतिनिधी सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगबती चौधरीको नेतृत्वमा स्थापना भएको थियो भने प्रारम्भमा जम्मा ११ जना थिए ।  । आयआर्जनमा महिलाको पहुँच स्थापित नभएसम्म समाज परिवर्तन सम्भव छैन भन्ने मान्यता राख्ने चौधरीले महिलालाई आय आर्जनमा सहभागी गराउनकै लागि संस्था स्थापना गरेकी थिइन् ।

संस्था स्थापनाका लागि पहिलो पटक आज भन्दा २७ वर्ष अघि अर्थात ०५१ साल पुसमा कांग्रेस नेता बीर नारायण चौधरीकी श्रीमती इश्वरवती चौधरीको डेरामा पहिलो बैठक बसेको थियो । पहिलो दिन बैठक बस्दा १५ जना जति महिला थिए । बोर्ड सदस्य ११ जना थिए । सुरुमा ११ जना बोर्ड सदस्यले तीन तीन सय रुपैयाँ जम्मा गरेका थिए । स्थानियहरु भन्छन्–‘भगबतीले उही बेला सर्वसाधारणलाई करोडपति हुने तरिका व्यवहारिक रुपमा सिकाएकी थिइन् ।’त्यती बेला पैसा कमाउने भन्दा पनि आम मान्छेलाई जागरुक बनाउने, जम्मा गर्न सिकाउने भगबती चौधरीको उद्देश्य थियो । 

संस्थाले प्रारम्भमा गाउँका महिलाहरुलाई स्वास्थ्य सम्बन्धी तालिम दिएको थियो । चौधरीले प्रशासनिक काम गर्थिन भने उनका श्रीमान दिनेश चौधरी (जसको सडक दुर्घटनामा मृत्यु भयो) ले गाउँगाउँ गएर महिलाहरुलाई तालिम दिन्थे ।सुरु सुरुमा गाउँगाउँ गएर तालिम दिएका उनीहरुले पछि फरवार्डको कार्यालय स्थापना गरेर तालिम दिन थाले । प्रारम्भमा चौधरीले आफ्नै घरमा कार्यालय राखेकी थिइन् । 

मधेशमा सौचालय

मधेशमा सबै भन्दा ठूलो समस्या शौचालयको थियो । कसैको घरमा पनि शौचालय थिएन । युनिसेफले शौचालय बनाउने कार्यक्रम दियो चार वर्षका लागि । पहिला शौचालय चाहिन्छ भनेर जनतालाई मनाउनु पर्ने थियो । कति समुदायलाई त कुरा बुझाउन सा¥है गा¥हो भो । मधेसी समुदायमा बन्द कोठामा सौच गर्नैहुन्न भन्ने मान्यता थियो । कुरा बुझाउन निकै गा¥हो प¥यो । ‘मेरै माइती गाउँ औराबनीमा पनि बनाउन सकिएन । घरमा जोडेर बनाऔं भन्दा त मान्दै नमान्ने । घर अगाडी बनाऔं भन्यौं ।’ भगबतीले भनिन् ।

घरकै अन्नबाट बच्चाको स्याहार

बच्चाहरुमा कुपोषण तराईमा एकदमै ठूलो समस्या थियो । पैसा नहुने तर, धेरै बच्चा जन्माउने परिवारमा यो समस्या झन ब्यापक । भगवतीले सोचिन ‘यो समस्याको समाधान जसरी पनि गर्नुपर्छ ।’बच्चा कुपोषण हुनुको अर्को पनि कारण थियो । आमाहरुले नै गतिलो चिज खान पाएका थिएनन् । आम्दानी पनि नहुने तर, आमा र बच्चा दुवैलाई स्वस्थ बनाउनु पर्ने ।

भगबतीले उपाय सिकाइन् ‘घरमै उपलब्ध हुने  अन्नहरु गहुँ, मकै, चामल, गेडागुडी पिसेर सातु बनाउने ।’ सातु बनाउन जानेपछि धेरै आमाहरुले आफ्ना सन्तानलाई कुपोषण हुनबाट जोगाए । त्यसपछि थारु र मुस्लिम समुदायको स्वास्थ्य र परिवारमा राम्रै परिवर्तन आयो । उनीहरुको आफ्नै घरमा दाल, चामल, गहुँ हुन्थ्यो । घरमै भएको खाद्यान्ह पिँधेर सातु बनाउँथे । पोषण खानाका लागि खर्चै भएन ।  

घुँघरीको साग

खेतीपाती गर्नेहरुले त खेती गरेर केही अन्न उत्पादन गर्थे । घरमा धान, चामल, दाल हुन्थ्यो । मुसहर टोलमा अर्को समस्या थियो । घरमा अन्न थिएन । भनेकै बेलामा काम पाइने ग्यारेन्टी थिएन । तिनलाई पनि पोषणयुक्त खानेकुरा बारे भगबती चौधरीले नै जानकारी दिइन् ।  तराईमा खोला नदीको किनारमा एकखाले साग पाइन्छ घुँघरी । त्यो साग जसको खेतमा पनि पाइन्छ । जसको खेतमा पनि टिप्न पाइन्छ ।

त्यो सागमा अत्याधिक आइरन हुन्छ । मुसहर टोलमा बस्नेलाई भगबतीले सिकाइन् ‘तपाईहरुले केही पाउनु भएन भने घुँघरी टिपेर ल्याउनुस् र राम्ररी पखालेर खानुस् ।’ घुँघरी साग खान थालेपछि उनीहरुको पनि स्वास्थ्यमा सुधार भयो ।सबैलाई थाहा थियो खाद्यान्हका लागि पैसा नभई हुन्थेन । तलिमकै क्रममा दिनेशजीलाई एकदिन भगबतीलाई भनिन् ‘हामीले तालिम दिएर मात्रै हुन्न । तालिमसँगै पैसा कमाउने तरिका पनि सिकाउनुपर्छ ।’ त्यसपछि नै सुरु भएको हो फरवार्ड ।

सिलाई कटाइले ल्याएको परिवर्तन


माइक्रोफाइनान्स हुनुअघि संस्था सामाजिक कार्यमै सक्रिय थियो । विभिन्न संघ संस्थाबाट पैसा लिने र समुदायलाई सिकाउने काम जारी थियो । सिलाई कटाई तालिमबाट महिलाको जीवनस्तरमा आएको परिवर्तन वास्तवमै उत्साह जनक छ ।समाज कल्याण परिषदबाट सिलाई कटाईका लागि संस्थाले ५० हजार रुपैंया पायो । त्यहि पैसाले तालिम दिनुपर्ने, मेसिन किन्नुपर्ने सम्भव थिएन । बेस भन्ने संस्थासँग पुरानो मेसिन मेसिन थियो । भगबतीले आफ्नै पहलमा मेसिन ल्याइन् र महिलालाई सिलाई कटाई तालिम दियो संस्थाले । 

औरावनीको भमरी भन्ने ठाउँमा संस्थाले सिलाई कटाई तालिम सुरु गरेको थियो । त्यहीका लिला यादबलाई सिलाई कटाई सम्बन्धि ज्ञान रहेछ । उनकै पहलमा तालिम सम्पन्न भयो । उक्त समयमा तालिम लिएका मध्ये ४÷५ जना महिला अहिले टेलरिङ सेन्टर खोलेर बसेका छन् । उनीहरुको जीवनस्तर निकै राम्रो छ ।


दुई रुपैया बचत


संस्थालाई युएसएडले ‘वोमन लिगल लिट्रेसी’ कार्यक्रम दिएको थियो एक वर्षका लागि । हरेक महिना मिटिङ हुन्थ्यो । लिगल लिट्रेसी कार्यक्रम सकिए लगत्तै संस्थाले बचत कसरी गर्ने ऋण कसरी दिने भनेर सिकायो । लेखा कसरी राख्ने लगायतका विषयमा छलफल भयो ।जो तालिममा सहभागी थिए । उनीहरुलाई समुह समुहमा विभाजन गरेर बचत गर्न सिकाएको थियो । सुरुमा २ रुपैंयाबाट बचत गर्न सुरु भएको थियो ।

‘विभिन्न समुहहरु बनाएका थियौं । कति बचत गर्ने भन्ने सामुहिक निर्णय गर्थे । कुनै समुहले २ रुपैंया बचत गर्थे त कुनै समुहले पाँच रुपैंया, कुनै समुहले १० रुपैंया पनि बचत गर्थे ।’ चौधरी विगतका संघर्षका कुरा सम्झँदै भन्छिन् । बचत चलाउँदा पहिलो महिनामै २७ वटा समुह बनेको थियो । एउटा समुहमा २० देखी ५० जनासम्म थिए । हरेक महिना जम्मा भएको पैसा संस्थाले सोनापुरको राष्ट्रिय वाणिज्य बैंकमा लगेर राख्थ्यो ।

आज सुनसरीका मात्र हैन देशका ४० भन्दा जिल्लाहरुमा भगबती चौधरीले नेतृत्व गरेको फरवार्ड माइक्रोफाइनान्सका शाखा मार्फत करिब तीन लाख महिला आत्मनिर्भर भएका छन् । उद्यमशील भएका छन् ।

Comments

सम्बन्धित खवर