•  २३ बैशाख २०८१, आईतवार
  •  4:33:22 PM

हाउजीमा धाँधली गरेको भन्दै भद्रपुरको मेलामा दुई पक्षबीच कुटाकुट, दुई जना घाइते, अनुमति खारेज

- भाद्र १५, २०७९ मा प्रकाशित


झापा । जिल्ला प्रशासन कार्यालय झापाले दिएको स्वीकृत पत्रको समेत नीति नियमलाई लत्त्याउँदै भद्रपुरमा सञ्चालित रमाइलो मेलामा दुई पक्षबीच कुटाकुट भएको छ । मेलामा सोमबार राती खेलाएको हाउजी (बिङ्गो तम्बोला)मा धाँधली भएको भन्दै विवाद बढेपछि आयोजक समिति र सर्वधारणबीच कुटाकुट भएको हो ।

आयोजकको कुटपिटबाट दुई जना युवक घाइते भएका छन् । घाइते हुनेहरूमा भद्रपुर– ६ निवासी सुरेश माझी र भद्रपुर– ४ निवासी आकाश राजवंशी रहेको प्रहरीले जनाएको छ । उनीहरूको अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो । घाइतेहरू मेची अस्पताल भद्रपुरमा उपचार गराई घर फर्किसकेको जनाइएको छ ।

घटना विवरण अनुसार मेला आयोजक समिति भद्रपुर युवा परिवारले सोमबार बेलुका खेलाइएको हाउजीको प्रथम पुरस्कार स्कुटर राखेका थिए । हाउजी खेल गएका सर्वसाधारणले प्रति टिकट ७ सय रुपैयाँ खरिद गरेका थिए । हाउजी खेला हुँदै गएपछि एक जना हाउस फुल परेको भन्दै स्कुटर दाबी गर्दै स्टेजमा पुगेका थिए । आयोजक समितिले उनको टिकटमा हास फुल परेको भन्दै घोषणा नै गरिदियो ।

त्यसपछि केही युवाहरू स्टेजमा चढेर टिकट सही हो वा गलत, त्यसमा हाउस फुल परेको हो वा होइन भन्दै बुझ्न गएका थिए । तर, आयोजक समितिले टिकट देखाउन मानेनन् । टिकट लिएर गएका व्यक्ति पनि त्यहाँबाट हतपत भागे । त्यसपछि सुरु भयो मेलामा बबाल । त्यसे बला रातीको साढे ११ बज्दै थियो । आक्रोशित बनेका सर्वसाधारणले अन्धाधुन्ध स्टेजमाथि टेबल कुर्सीहरू तोडफोड गर्न थाले । अनि सर्वसाधारण र आयोजक समितिबीच कुटाकुट भयो ।

आयोजक समितिले सर्वसाधारणलाई खेदाइखेदाई कुटेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मेलामा परिचालित वडा प्रहरी प्रहरी भद्रपुरको टोली पनि हुलदङ्गा देखेर निरीह बन्यो । त्यसपछि मेलाको हुलदङ्गा रोक्न जिल्ला प्रहरी कार्यालय झापाबाट थप टोली मगाएर सबैलाई त्यहाँबाट भगाएको प्रत्यक्षदर्शी बताउँछन् ।

मेलामा खेलाइएको हाउजी आयोजक समितिले सेटिङमा खेलाएको स्थानीय भीमासिंह राजपूतले आरोप लगाएका छन् । ‘पङ्कज भन्ने व्यक्तिलाई हाउफुल परेपछि हामी बुझ्न गएका थियौँ,’ उनले भने, ‘तर हामीलाई टिकट समेत हेर्न दिइएन ।’ टिकट लगेर गएको व्यक्ति पनि त्यहाँबाट भागी हाले । ‘बुझे अनुसार टिकटमा छाप पनि थिएन, त्यो टिकट आयोजक समितिले फ्रीमा बाँडेको थियो, त्यसैमा हाउफुल पारियो,’ उनले थपे । यसभन्दा अघि पनि आयोजक समितिले आफ्नो मान्छेहरूलाई फ्रीमा टिकट बाँड्दै आएको थियो । त्यही टिकटमै हाउ फुल अर्थात् पहिले पुरस्कार पारिन्थ्यो र आयोजकले बाडीचुडी रकम लिन्थ्यो ।

केही दिनअघि पनि हाउजी खेलाउने व्यक्तिले गलत नम्बर उद्घोष गरेपछि मेलामा बबाल भएको थियो । तर, आयोजक समितिले घटनालाई साम्य बनाउन टिकट किनेकाहरूलाई रातारात पैसा फिर्ता ग¥यो ।

यता भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु सहनीले आयोजक समितिले हाउजी खेलमा कुनै धाँधली नगरेको बताए । केही युवाहरूलाई चित्त नबुझेकोले स्टेजमा चढेर बबाल गर्दा त्यस्तो परिस्थित उत्पन्न भएको उनको भनाई छ । ‘आयोजक समितिले कसैलाई पनि कुटपिट नगरेको र भीडमा कसले कसलाई कुटेको त्यो आफू थाहा छैन,’ उनले भने ।

त्यस्तै मेला सञ्चालक प्रदीप राणाले हाउजीको टिकट सबै बिक्री नभएपछि आयोजक समितिबाटै केही व्यक्तिहरूले खेलको हो । त्यसमा आयोजक समितिको कुनै गल्ती छैन । ‘आयोजककै टिकटमा स्कुटर परेपछि घटनाले उग्ररुप लिएको मात्रै हो,’ उनले भने ।

प्रशासन कार्यालयले बेलुका ८ बजेसम्म मेला सञ्चालनको स्वीकृत दिएको थियो । तर, आयोजक समितिले प्रहरीकै संरक्षणमा राती १२ बजेसम्म मेला सञ्चालन गर्दै आएको थियो । मेलामा पैसाको हारजित अर्थात् जुवाजन्य कुनै पनि खेल खेलाउन नपाउने प्रशासनको पत्रमा उल्लेख हुँदा समेत मेला दिनहुँ जुवाजन्य खेलहरू खुलेआम खेलाउँदै आएका थिए । त्यो पनि नेताको पावरमा ।

मेलाको अनुमति रद्द

सोमबार राती मेलामा कुटाकुट भएको घटना बाहिर आए लगतै जिल्ला प्रशासन कार्यालयले मेलालाई दिएको अनुमति रद्द गरिदिएको छ । प्रशासनले १५/१५ दिन गरी दुई पटकमा भदौ १६ गतेसम्म एक महिना मेला सञ्चालनको अनुमति दिएको थियो । प्रशासनको पत्रमा भनिएको, ‘मेला सञ्चालनको क्रममा विवाद भई शान्ति सुरक्षामा असर परेको बुझिएकोले मंगलबार (आजै)का मितिबाट उक्त मेला सञ्चालन अनुमति रद्द गरिएको छ ।’

प्रशासनले सो पत्र जिल्ला प्रहरी कार्यालय झापालाई पठाएको र प्रहरी कार्यालय झापाले वडा प्रहरी कार्यालय भद्रपुरलाई पठाएको छ । वडा प्रहरीले मेला अनुमित रद्दको पत्र आयोजक समिति भद्रपुर युवा परिवारलाई जिम्मा लगाइसकेको वडाका प्रहरी निरीक्षक सन्तोषकुमार बुढाथोकीले जानकारी दिए ।

Comments

सम्बन्धित खवर