•  २३ बैशाख २०८१, आईतवार
  •  12:34:02 AM

चिताबाटै आधा जलिसकेको किशाेरिकाे शव प्रहरीकाे नियन्त्रमा : गाउलेलाइ खबर नगरी सुटुक्क जलाउदा खुल्याे डरलाग्दाे रहस्य

- असार १६, २०७९ मा प्रकाशित


पर्सा । पर्साको बहुदरमाई नगरपालिका-७ बिश्रामपुरबाट घाटमा आधा जलाइसकेको एक १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले छपकैयास्थित आर्यघाटमा जलाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् । घटनाको सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरी बुधबार राति नै शव नियन्त्रणमा लिएको जनाइएको छ । घटना अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिएका छन् ।

खबर पाए लगत्तै प्रहरी परिचालन गर्दा पनि शरीरको ५० प्रतिशत भाग जलिसकेको अवस्थामा शव नियन्त्रणमा लिइएको जानकारी दिंदै प्रनाउ कार्कीले भने, ‘आत्महत्या हो कि हत्या गरेर जलाउन खोजिएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइसकेका छौं ।’

प्रहरीको टोली देखेपछि मलामी गएका केहि मानिस देखेर भागेको र किशोरीको घरका लोग्ने मानिस पनि सबै फरार रहेकाले घटना शंकास्पद देखिएको प्रहरीको भनाई छ । फरार भएकाहरुको खोजी पनि भइरहेको प्रनाउ कार्कीले बताएका छन् ।नियन्त्रणमा लिइएको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

घटनाबारे प्रहरीमा जाहेरी दिने मानिस पनि कोहि आएका छैनन् । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान प्रक्रिया अगडि बढाउने प्रहरीको तयारी छ । महिमाको गाउँकै एक केटासँग प्रेम सम्बन्ध रहेको स्थानीय गाउँलेले जानकारी दिएका छन् । यसबारेमा गाउँमा चर्चा चलेपछि उनलाई अभिभावकले सम्झाइ बुझाइ समेत गरेको गाउँलेले बताएका छन् ।

उनले आफूले केटा छोड्न नसक्ने बताएपछि अभिभावकले मनसिक र शारीरिक यातना समेत दिने गरेको गाउँलेले बताएका छन् । उनले बुधबार राति विष सेवन गरी आत्महत्या गरेको भन्दै अभिभावकले प्रहरी र गाउँलेलाई खबर नै नगरी शव जलाउँदै थिए ।

Comments

सम्बन्धित खवर