•  २ जेष्ठ २०८१, बुधबार
  •  8:25:14 AM

अभिभावकलाइ उपयाेगी टिप्स : कोरोना संक्रमणबाट बालबालिकालाई कसरी जोगाउने ?

- असार १२, २०७९ मा प्रकाशित


चिकित्सकहरूले कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणको दोस्रो र तेस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन् ।वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड –१९ परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ बढी हुन सक्ने ठानिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेलका अनुसार सङ्क्रमणबाट बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ ।  डा. पौडेलका अनुसार बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ ।

खेलकुदका सुरक्षित स्थानको व्यवस्थापनदेखि उनीहरूको मानसिक स्वास्थ्यमा प्रभाव नपरोस् भनेर बालबालिकाहरूको उमेरका हिसाबले सिर्जनात्मक क्रियाकलापमा लगाउन चाँजोपाँजो मिलाउन अभिभावकले भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।

सरकारले बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि भन्दै ठूला सहरमा विद्यालयहरू बन्द गने निर्णय केही महिना अघि नै गरिसकेको छ । यस्तो अवस्थामा घर भित्रबाहिर गर्ने अभिभावकले घर आउनासाथ सिधै बालबच्चालाई समात्न नहुने पौडेल बताउँछन् ।

“भाइरस जेमा पनि हुन सक्ने हुँदा जहाँतहीँ मास्क नफालौँ, बाहिरको कपडा पनि छुट्टै राखौँ । सकिन्छ भने नुहाएर मात्रै बालबालिकालाई समाउने गरौँ,“ उनले भनेका छन् ।बालबालिकाहरूलाई कोरोनाका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उनको भनाइ छ ।

“यति मृत्यु भयो, यति बिरामी भएभन्दा यति निको पनि भएका छन् भनेर सकारात्मक सोच आउने खाले सन्देश पनि दिनुपर्छ,“ उनले थपे ।बालबालिकाहरू घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने उनको भनाइ छ ।

यसरी थापा पाउने बालबालिकामा लक्षण 

बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्त्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने डा. पौडेल बताउँछन् ।

बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुने उनको भनाइ छ ।उपचारका क्रममा चिकित्सकलाई सही सूचना दिन पनि जरुरी हुने उनी बताउँछन् ।कतिपय बालबालिका सङ्क्रमित भए पनि लक्षण भने नदेखिने पनि हुनसक्ने नेपाल पेडियाट्रिक सोसाइटीले जनाएको छ ।

“विश्वका बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको ४ – ६ हप्ता पछि मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम इन चिल्ड्रेन (एमआइएससी) भइ बच्चाहरू सिकिस्त हुन सक्छन् । यसको उपचार निकै महँगो छ, अत्यन्तै कडा रूपमा प्रस्तुत हुने र आइसियुकोे आवश्यकतासँगै कतिपय अवस्था जटिल समेत हुन्छ,“ सोसाइटीले सार्वजनिक गरेको अपिलमा उल्लेख गरिएको छ ।

उक्त अवस्थाको लक्षण ज्वरो, कडा झाडा पखाला, बढी पेट दुख्ने, श्वास फेर्न गाह्रो र शरीरमा डाबरको साथै मुटुका समस्याहरू पनि हुन सक्ने बताइएको छ ।चिकित्सकहरुका अनुसार बालबालिका र बढी उमेर भएकाहरूमा देखिने लक्षण लगभग उस्तै नै हुन्छन् । प्रायःमा श्वासप्रश्वास असहज हुने, ज्वरो आउने र निमोनिया देखिने गरेको छ ।

Comments

सम्बन्धित खवर