•  २६ बैशाख २०८१, बुधबार
  •  5:03:51 PM

महाप्रबन्धकमा नियुक्त ज्वार्चनविरुद्ध अख्तियारमा दर्जनभन्दा बढी उजुरी

- असार १०, २०७९ मा प्रकाशित


काठमाडाैं । सरकारले नेपाल वायु सेवा निगमको ‘अस्थायी’ महाप्रबन्धकमा नियुक्त गरेको दीपुराज ज्वार्चनमाथि दर्जनभन्दा बढी उजुरी रहेको खुलेको छ । आर्थिक अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको कान्तिपुर दैनिकमा खबर छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्स (न्यारोबडी–३२०) का विमान चालक ज्वार्चनलाई कार्यकारी अधिकारसहित बिहीबार नियुक्त गरेका हुन् । 

ज्वार्चनमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन, निगमभित्र आर्थिक अनियमितता, विमान चालकको उडान तालिका निर्धारणमा विभेद, कानुनी प्रावधानविपरीत अपरेसन डाइरेक्टरमा नियुक्तिलगायत दर्जन बढी आरोपमा छानबिन भइरहेको छ ।

अख्तियारले गत वैशाख ७ मा मात्रै निगमलाई पत्र लेख्दै ‘दीपुराज ज्वार्चनलाई अपरेसन डाइरेक्टरमा नियुक्ति गर्दा सोको कानुनी आधार र प्रक्रिया’ तथा जापानको नारितामा ‘क्रु’ हरू बस्नका लागि तीनतारे नारिता होटल छनोट गर्दा लिइएका आधारहरू’ खुलाएर १० दिनभित्र राय÷प्रतिक्रिया पठाउन निर्देशन दिएको थियो । 

अख्तियारको निर्देशनपछि तत्कालीन कार्यकारी अध्यक्ष (हाल निलम्बित) युवराज अधिकारीले जवाफ पठाउँदै ज्वार्चनलाई अपरेसन डाइरेक्टरमा नियुक्त गर्दा तत्कालीन व्यवस्थापनले कानुनी प्रावधान उल्लंघन गरेको र जापानमा क्रु बस्नका लागि होटल छनोट गर्दा ‘अनियमितता भएको’ स्वीकार गर्दै कानुन मिच्नेमाथि कारबाही गर्नुपर्ने राय दिएको थियो । 

यस विषयमा अख्तियारले अनुसन्धान जारी राखेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने ज्वार्चनमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै थप विषय बोल्न नमिल्ने बताए ।

मन्त्रिपरिषद्ले सोमबार पर्यटनमन्त्री आलेको प्रस्तावमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील गालीगलोज गरेको अडियो केही दिनअघि मात्र सार्वजनिक भएको थियो । 

त्यस विषयमा आलेको सार्वजनिक आलोचना भइरहेका बेला अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो । अधिकारीले सम्हाल्दै आएको कार्यकारी अधिकार प्रयोग गर्ने गरी ज्वार्चनले नियुक्ति पाएका हुन् । 

ज्वार्चनमाथिको अनुसन्धानलाई अनदेखा गरेर बहिर्गमन उन्मुख मन्त्री आलेले नियुक्ति दिएका हुन् । मन्त्री आलेलाई उनको दल एकीकृत समाजवादीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ । 

मुस्ताङ घर भएका नवनियुक्त महाप्रबन्धक ज्वार्चनका बुबा पनि निगममै वाइडबडी विमानका चालक हुन् भने उनकी आमा निगमको क्याबिन क्रु विभागकी प्रमुख छिन् । 

Comments

सम्बन्धित खवर