•  २० बैशाख २०८१, बिहीबार
  •  12:28:44 AM

धनकुटामा साथीकै बाबाबाट बालिका बलात्कृत , ‘गाउँमै घुमिरहेका’ आरोपितलाई प्रहरीले सकेन पक्राउ गर्न !

- जेष्ठ १७, २०७९ मा प्रकाशित


इटहरी । साथीका बुबाबाट करिब एक वर्षसम्म पटक–पटक बलात्कारको सिकार भएकी धनकुटाकी एक बालिकाले अहिले छटपटीमा दिन–रात कटाउने गरेकी छन्। घरी रुन्छिन्, घरी हास्छिन् घरी आत्तिन्छिन् घरी त्यै घटना सम्झिएर चिच्याउँछिन्, डराउँछिन् । आरोपित पक्राउ नपर्दा झन् पीडित बनेकी छन्।

चार महिनाअघि किटानी जाहेरी दिँदा पनि आरोपित धनकुटाको धनकुटा नगरपालिका–६ आत्माराका मिलन भनिने नीलबहादुर भुजेल पक्राउ परेका छैनन्। घटना भएको लामो समय बितिसक्दा पनि आरोपितलाई प्रहरीले नसमात्दा ती बालिकामाथि मानसिक समस्या देखिएको छ। पहिले–पहिले पढाइमा अब्बल अनि घरको काममा मन लगाउने ती बालिका अहिले सधैँझै निराश हुनेगरेको पीडितका आफन्तको भनाइ छ।

२०७७ वैशाखयता साथीको बुबाबाट पटक–पटक बलात्कारको सिकार बनेकी ती बालिकाले डेढ वर्षपछि मात्र घटनाबारे घर–परिवारलाई सुनाएकी थिइन्। विभिन्न अस्वभाविक स्वभाव देखाउन थालेपछि परिवारका सदस्यले उनलाई सोधपुछ गर्दा घटना बाहिरिएको थियो। आर्थिक अवस्था नाजुक रहेको सो परिवारले घटनाबारे जानकारी पाएलगत्तै प्रहरीलाई किटानी जाहेरी दिएको थियो।

गत वर्षको फागुन ६ गते पीडित बालिकाका बुबा आफ्नी छोरी बलात्कृत भएको भन्दै उजुरी लिएर प्रहरी कार्यालय पुगेका थिए। तर घटना पुरानो भएको र बलात्कारसम्बन्धी हदम्याद कटिसकेका भन्दै प्रहरीले ‘बाल यौन दुरुपयोग’ को जाहेरी दिन सुझाएको थियो।

‘पहिलादेखि नै थुप्रैपटक बलात्कार भएको भन्दै पीडित पक्ष प्रहरीसमक्ष आउनु भएको रहेछ,’ धनकुटा प्रहरी प्रवक्ता डिएसपी चिरन्जीवी दाहालले भने, ‘तर बलात्कारको हदम्याद कटिसकेका कारण करणी मुद्दा चलेन। माघतिर यौन दुरुपयोग गरेको आधार मानेर बाल यौन दुरुपयोगमा जाहेरी दिइएको रहेछ। अहिले प्रतिवादी फरार छ, खोजी कार्य भइरहेको छ।’

माघ ७ गते अन्तिम पटक बालिका ती वयस्क पुरुषबाट यौन दुरुपयोगको सिकार भएको जाहेरीमा उल्लेख रहेको डिएसपी दाहालको भनाइ छ। सुरुमा साथीको घरमा जाँदा ती बालिका बलात्कृत बनेकी थिइन्। त्यसपछि भुजेलले कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै ती बालिकामाथि कयौं पटक बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको उनले बताए।

प्रहरीमा जाहेरी पर्नुभन्दा अघिल्लो साँझदेखि नै आरोपित भुजेल फरार भए। फरार भुजेल जाहेरी परेको चार महिना बितिसक्दा पनि पक्राउ परेका छैनन्। उनी पक्राउ नपर्दा पीडित पक्षले न्याय पाउने आशा मारिसकेका छन्। प्रहरीले संलग्नको खोजी कार्यमा ढिलासुस्ती गरेको पीडित परिवारको गुनासो छ।

करणीकै कारण आफ्नी छोरीमाथि मानसिक रूपमा समस्या देखिएपछि पीडितको परिवार झन् चिन्तित बनेको छ। ‘पीडित बालिकाका बुबा अत्तालिनु भएको छ, बेला–बेलामा जनप्रतिनिधि र प्रहरीसमक्ष न्यायका लागि दौडिरहनु भएको छ,’ वडाध्यक्ष मिलन खड्की भन्छन्, ‘हामीले पनि सक्दो पहल गरिरहेकै छौँ। उहाँहरूको आर्थिक अवस्था पनि नाजुक छ। प्रहरीले प्रतिवादी खोजिरहेको छ। ढिलोचाँडो न्याय मिल्छ।’

‘आरोपित वल्लो गाउँ–पल्लो गाउँ गरिरहेको छ’

बलात्कारको घटना लिएर पीडित परिवार प्रहरीसमक्ष पुग्नुभन्दा एक दिनअगावै भुजेल फरार भएका थिए। घटनाबारे घरका सदस्यलाई सुनाउनुअघि ती बालिकाले आफ्नी साथीलाई सुनाएका कारण पनि भुजेललाई भाग्न सहज भएको थियो।

उनी चार महिनादेखि वल्लो गाउँ–पल्लो गाउँ गरिरहेको स्रोतले जनाएको छ। ‘प्रहरीले खोज्नलाई आनाकानी गरेको हुनसक्छ,’ स्रोत भन्छ, ‘त्यो मान्छे (आरोपित) पल्लो गाउँमा घुमिरहेको छ। कहिले वल्लो गाउँमा हुन्छ कहिले पल्लो गाउँमा हुन्छ। प्रहरीले उनलाई पक्राउ ढिलासुस्ती गरिरहेको छ।’

यता, डिएसपी दाहाल भने प्रतिवादीको खोजीमा खटिइरहेको बताउँछन्। प्रतिवादी नभेट्टाएमा एक वर्षसम्मको सबै सबुत संकलन गरेर अदालतमा बुझाउने उनको भनाइ छ। उनले भने, ‘हामीले प्रतिवादी खोजिरहेका छौँ। नभेट्टाएमा सबै प्रमाण संकलन गरेर अदालतमा बुझाउँछौँ र अदालतबाट पक्राउ पुर्जी जारी हुन्छ। पीडितले न्याय पाउँछिन्। ढिलाइ हुन दिन्नौँ।’

Comments

सम्बन्धित खवर