रौतहट । रौतहटको गौर नगरपालिका–९ मा पर्ने गौर–सिरसिया सडक खण्डस्थित दिव्यज्योति स्कूलको गेट नजिकै सुटकेशभित्र मृत भेटिएकी २६ वर्षीया रुविकुमारी साह ४ वर्षीय छोरा पढाउन महादेवपट्टीमा बस्दै आएको तथ्य खुलेको छ ।
भारतको मुजफ्फरपुरमा रहेका श्रीमानलाई छाडेर उनी छोरा पढाउन भन्दै रौतहटको माधवनारायण नगरपालिका–२ स्थित महादेवपट्टीमा डेरा लिएर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हो । रुविका श्रीमान पनि अहिले रौतहट प्रहरीको सम्पर्कमा आइसकेका छन् । उनले आफू र रुविबीच कुनै पनि घरायसी लगायत अन्य समस्या नरहेको प्रहरीलाई जानकारी गराएका छन् ।
शनिबार राति स्कूलको गेट नजिकै सुटकेशभित्र रुविको शव फेला परेको थियो । रुविको हत्या गरेर घटना लुकाउन सुटकेशमा शव लुकाएर फालिएको हुनसक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर रौतहटका प्रवक्ता एवं प्रहरी उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।
घाँटी कसेर महिलाको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ । ‘तर, हत्या कसले र किन गर्यो खुलिसकेको छैन,’ डीएसपी कार्कीले भने । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
‘अहिलेसम्म मृतकको पहिचान खुलाउने काम भयो, उनी चार वर्षीय छोरा पढाउन छुट्टै डेरा लिएर बसेको देखियो’, डीएसपी कार्कीले भने, ‘रुविका श्रीमान पनि हाम्रो सम्पर्कमा आइसकेका छन् । त्यस्तो पारिवारिक समस्या केही नभएको उनका श्रीमानले हामीलाई बताएका छन् ।’
शंकास्पद सुटकेश देखेपछि के रहेछ भनेर पत्ता लगाउनै प्रहरीलाई केही समय लागेको थियो । सुटकेश भेटिएको ठाउँमा बत्ती नभएकाले प्रहरीले शनिबार रातभरि त्यहीँ ड्युटी गरेर बसेको थियो ।
सेनाको डिस्पोजल टोली पुगेपछि मात्रै सुटकेश खोलेर हेर्दा शव भेटिएको डीएसपी कार्कीले जानकारी दिए । रुविको शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको छ । रुवि २ दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन् ।




























Discussion about this post