इटहरी डेस्क । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरंकुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन्। ‘निरंकुश हुकुमी शासनकालमा यस्ता संघ–संगठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईहरु पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नु भएको छ।’
प्रधानमन्त्री ओलीले भने, ‘यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौं । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । उनीहरुलाई जनमत संग्रह भएको लाग्यो रे। तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए। दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए । मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा…गरेर डर लागेन ? भनेर खेलेको याद आयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ। अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो। अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्न सक्छ, होस् गर ।’
प्रधानमन्त्रीलाई लखेट्छौं भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे। ‘दरबार हत्याकाण्डपछि कुशको बाहुन जस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरंकुशता लाद्योे । जनताको अधिकार खोज्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्यो। अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनु पर्छ भन्दा लाज मान्नु पर्ने हो।’
प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ । यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ। यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनु पर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्छौ तर प्रतिगमन अब सम्भव छैन।’
विरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला विरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गरे । चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बीसौँ वार्षिक पुण्यतिथि सकिइसकेको हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न जोड दिए।
‘भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहान्न तर मैले डक्टर र नर्सहरुले कठिन स्थितिमा पनि विरामी जादुमयीरुपमा मान्छेलाई बचाएको देखेको छु। त्यस कारण म त भन्छु, डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस् ।’ प्रधानमन्त्री ओलीले भने, ‘आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुर्छ। यस महासंघले भूमिका खेल्न सकोस् ।’


Discussion about this post