काठमाडौं । सरकारी कर्मचारीलाई ‘हनी ट्रयाप’ मा पारेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावारी नगरपालिका–१०, दमौराकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७, सल्लाघारीकी ३४ वर्षीया आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।
यौन शोषणको मुद्दा लगाई दिने धक्की दिँदै उनीहरूले एक सरकारी कर्मचारीलाई पीडित बनाएको आरोप छ। त्यसरी तत्काल पाँच लाख रुपैयाँको चेक काट्न बाध्य बनाएको सूचनापछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
ममता काठमाडौंको कालोपुलमा बस्दै आएकी थिइन् । आँचल काठमाडौंकै हाँडीगाउँमा बसोबास गर्थिन् । प्रहरीका अनुसार, सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूले पीडित भनिएका ती व्यक्तिसँग चिनजान र सम्बन्ध बढाएका थिए। त्यसपछि ठमेलस्थित एक होटेलमा बोलाएर खाजा र मादकपदार्थ सेवन गराएर अचेत अवस्थामा उनको अश्लील तस्वीर खिचेको र भिडियो बनाएका थिए ।
फेसबुक मेसेन्जरमा उक्त तस्वीर र भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर र चार आना जग्गा दिनुपर्ने नत्र यौन शोषणको मुद्दा लगाइ दिने धम्की दिएका थिए । उनीहरुले मुद्दा लगाई दिने धम्की दिएर पाँच लाखको चेक काट्न लगाएका थिए ।
बुधबार (जेठ ७) बेलुका उनीहरूलाई काठमाडौंको हनुमानस्थानबाट पक्राउ गरिएको उक्त कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरूका साथबाट मोबाइल दुई थान र आँचल चौगुठीका नाममा काटिएको प्राइम कमर्सियल बैंकको पाँच लाख रुपैयाँको एउटा चेक बरामद गरिएको प्रहरीले जनाएको छ । आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाही निम्ति उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।


Discussion about this post