इटहरी डेस्क । न्याय परिषद्ले सर्वाेच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।
न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो । पहिलो नम्बरमा सिफारिस भएका पोखरेल सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पनि हुन्। उनी कम्पनी तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन्।
अरू दुई जना उच्च अदालतका मुख्य न्यायाधीश हुन् । पौडेल उच्च अदालत जनकपुरमा र थापा उच्च अदालत दीपायलमा कार्यरत छन् । सर्वोच्च अदालतमा चार जना न्यायाधीशको पद रिक्त छ । तर, एउटा सिट खाली राखेर तीन जना मात्र सिफारिस गरिएको छ । जबकि, संविधान र कानुनले पद रिक्त राख्ने छुट दिएको छैन । कुनै न्यायाधीश नियमित अवकाशमा गएर पद रिक्त हुँदैछ भने एक महिनाअगावै पदपूर्तिको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था छ ।
त्यस्तै अपर्झट कुनै कारणले न्यायाधीश पद रिक्त हुन गएमा त्यसको एक महिनाभित्र नयाँ नियुक्त गरिसक्नुपर्ने व्यवस्था छ । तर, सर्वोच्चमा खाली रहेको एउटा यस्तो पद हो, जुन २०७८ जेठ १३ देखि खाली छ। तत्कालीन न्यायाधीश पुरूषोत्तम भण्डारी ६५ वर्षे उमेर हदका कारण अवकाशमा गएयता सर्वोच्चको फुलकोर्ट कहिल्यै पनि पूर्ण हुन सकेको छैन। यसबीचमा धेरै चरणमा न्यायाधीश नियुक्तिको सिफारिस गर्दा सिट खाली राख्ने गरिएको छ।
स्रोतका अनुसार यसपालि एमालेको कोटाबाट एक जना न्यायाधीश हुने कानुन व्यवसायीको नाम टुंगो नलागेपछि खाली राखेर बाँकी तीन जना सिफारिस गरिएको हो । पहिलो नम्बरमा सिफारिस भएका पोखरेल भने कांग्रेसको कोटामा परेका हुन्। उनी यसअघि कांग्रेस निकट कानुन व्यवसायीकै समूहबाट सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए। तर, उनको व्यावसायिक क्षमता र निष्ठामा पनि प्रश्न उठेको छैन। संविधानले सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरेको छ। हाल १७ जना न्यायाधीश मात्र कार्यरत छन्।
Discussion about this post