इटहरी । पर्यटकको उद्धारका नाममा भएको ठगी संगठित प्रकृतिको देखिएको सिआइबीले जनाएको छ । यस्तो अपराधमा सम्पत्ति शुद्धीकरणको कसुर पनि आकर्षित हुने भएकाले त्यसतर्फ पनि छानबिन थालेका सिआइबी निर्देशक एआइजी डा मनोज केसीले बताए ।
पर्यटकहरूको उद्धारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पर्यटन व्यवसायी तथा अस्पताल सञ्चालकले अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिएपछि सम्पत्ति शुद्धीकरणको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सम्पत्ति छानबिन सुरु गरेको जनाएको छ । सिआइबीले ६ पर्यटन व्यवसायी तथा एक चिकित्सकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनाले केही वर्षमै अस्वाभाविक सम्पत्ति आर्जन गरेको प्रारम्भिक छानबिनमै भेटिएको प्रहरीले जनाएको छ । त्यो सम्पत्ति पर्यटकको उद्धारका नाममा भएको ठगीबाट आर्जन गरिएको सिआइबीको आशंका छ ।
पर्यटकको उद्धारका नाममा हुने ठगीमा रेस्क्यु कम्पनी, ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालको मिलेमतो रहेको सिआइबीको अनुसन्धानले देखाएको छ । यसमा मुछिएका व्यक्तिहरूको यी सबै क्षेत्रमा लगानी छ । सबै क्षेत्रमा आफ्नै कम्पनी खडा गरी उनीहरूले ठगी गरेको सिआइबीका अधिकारी बताउँछन् । माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमालको मात्रै १० वटा कम्पनीमा लगानी छ ।
माउन्टेन रेस्क्यु सर्भिससहित फ्लाइट कनेक्सन इन्टरनेसनल, माउन्टेन लिडर ट्रेक्स, मास्टर हिमालय ट्रेक्स, डायनिस्टी असिसटेन्समा उनको लगानी छ । त्यस्तै, हिमालयन फाइबर एन्ड डेकोर प्रालि, ग्रिन पार्क चितवन, स्वागन इन्टरनेसनल अस्पताल, वासस्थान पोखरा प्रालि, वासस्थान काठमाडौं प्रालि र गोरकसेप क्लिनिकमा उनको लगानी छ । काठमाडौंको सेतोपुलस्थित स्वागन अस्पताल पनि फेक रेक्स्युमा विगतमै कारबाहीका लागि सिफारिस भएको अस्पताल हो ।
सो अस्पतालमाथि अहिले सिआइबीले पनि छानबिन गरिरहेको छ । बिरामी नदेखिने सो अस्पताल ठगीकै लागि खडा गरिएको आशंका गरिएको छ । यसरी १० कम्पनीमा लगानी गर्ने ४६ वर्ष रिमाल कुनै समय प्लान होलिडे ट्राभलमा टिकेटिङ अफिसरका रूपमा काम गर्दथे । छोटो समयमै उनले करोडौँको सम्पत्ति आर्जन गरेको भेटिएको छ ।
त्यस्तै, मुक्ति पाण्डे एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालि, होल तुलसी ठमेल, बेस क्याम्प हेलिकोप्टर, अनन्त होम प्रालि, जलजला थकाली, काठमाडौं डे टुर्स, नेपाल क्यापिटल, मायालु कृषि फार्मजस्ता कम्पनीका लगानीकर्ता हुन् । ४२ वर्षीय पाण्डे ट्रेकिङ गाइडका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्सका सञ्चालक ४७ वर्षीय सुवास केसीको एक्साइटिङ नेपाल ट्रेक एन्ड एक्सपिडिसन, ज्वाइन्ट भेन्चर्स इन्भेस्टर्स ग्रुप र मास्टर हिमालय ट्रेक एन्ड एक्सपिडिसनजस्ता कम्पनी छन् । ठमेलको कान्तिपुर रेस्टुरेन्टमा सामान्य कर्मचारीबाट करिअर सुरु गरेका उनले पनि चार कम्पनी खडा गरिसकेका छन् ।
नेपाल चार्टर सर्भिसका ३९ वर्षीय रवीन्द्र अधिकारीको तीन कम्पनीमा लगानी छ । एड्भेन्चर डिस्कभरी ट्रेक्स एन्ड एक्सपिडिसन र जानुका इन्भेस्टमेन्ट प्रालिमा उनको लगानी छ । उनी पनि कुनै समय माइतीघरको एक रेस्टुरेन्टमा सामान्य कर्मचारी थिए । त्यस्तै, विगतमा टिकेटिङ कम्पनीमा काम गरी माउन्टेन रेस्क्यु कम्पनीमा लगानी गरेका ३१ वर्षे विवेक पाण्डेले मास्टर हिमालय ट्रेक एन्ड एक्सपिडिसनमा पनि लगानी गरिसकेका छन् ।
श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा गीर्वाणराज तिमिल्सिनाले ग्लोबल कनेक्ट हेली सर्भिस र श्रीद्धि इन्भेस्टमेन्ट प्रालिमा लगानी गरेका छन् । यो समूहले मात्र हिमाली क्षेत्रमा जाने पर्यटकको हेलिकोप्टरमार्फत फर्जी उद्धारका नाममा दुई अर्ब ८५ करोड रुपैयाँबराबरको ठगी गरेको पुष्टि भइसकेको छ । हिमाल आरोहरण तथा पदयात्रामा जाने पर्यटकको बिरामी भएको भन्दै उद्धार गरेको देखाएर फर्जी कागजपत्र बनाई उनीहरूको बिमा रकम ठगी गरेका हुन् । २६५ पर्यटकको बिमा रकम ठगी गरेको पुष्टि भइसकेको छ ।
उनीहरूले ठगीबाटै सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छानबिन थालिएको सिआइबीका निर्देशक एआइजी डा मनोज केसी बताउँछन् । ‘पर्यटकको उद्धारका नाममा भएको ठगी संगठित प्रकृतिको देखिन्छ,’ उनी भन्छन्, ‘यस्तो अपराधमा सम्पत्ति शुद्धीकरणको कसुर पनि आकर्षित हुने भएकाले त्यसतर्फ पनि छानबिन थालेका हौँ ।’
यस्तो गतिविधिपछि पर्यटकीय देश नेपाल विश्वमै बदनाम भएको थियो । नेपाल जाने पर्यटकको कतिपय कम्पनीले ट्राभल इन्स्योरेन्ससमेत गर्न छाडेका थिए । यस्तो धन्दाले गर्दा देशको सिंगो पर्यटन क्षेत्र नै ध्वस्त हुने अवस्था सिर्जना भएपछि सिआइबीले यसमा छानबिन थालेको हो । आठ वर्षअघि पनि सरकारले यससम्बन्धी छानबिन गरेको थियो । तर, त्यसमा मुछिएका व्यक्तिहरूको दबाबले छानबिन र कारबाही हुन सकेन । जसकारण सो गिरोहले यस्तो धन्दालाई निरन्तरता दिएका थिए ।
विमानस्थलमा रहेको अभिलेखको विवरणलाई नै थपघट गरी ‘प्यासेन्जर मेनिफेस्ट’ नै किर्ते गरी आफ्ना अस्पतालमा उपचार गराएको देखाएर बिमा रकम दाबी गरी ठगी गरेको सिआइबीले जनाएको छ । यसमा संलग्न हेलिकोप्टर सञ्चालकसमेत सिआइबीको छानबिनमा छन् ।




























Discussion about this post