इटहरी डेस्क । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेस प्रदेशका सबै जिल्ला अहिलेसम्म किन साक्षर घोषणा हुन सकेन भन्ने विषयमा अध्ययन गर्न टोली गठन गर्ने भएका छन्। मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत बताएअनुसार मधेसजस्तो सुगम ठाउँ पनि किन अहिलेसम्म साक्षर हुन सकेन भन्ने विषयमा अध्ययन गरी यथाशीघ्र रिपोर्ट पेस गर्न मधेस प्रदेशकै राजनीतिक दल र विज्ञहरूको टोली गठन गरिने भएको हो।
‘मधेस प्रदेशका ८ वटै जिल्लाहरू अहिलेसम्म साक्षर जिल्ला भनेर घोषणा गरिएका रहेनछन्। कर्णाली प्रदेशका २ जिल्लाबाहेक नेपालका अरू सबै जिल्लाहरू साक्षर घोषणा भइसकेका रहेछन्। मधेसजस्तो सुगम ठाउँमा पनि किन यस्तो भयो र मधेसमा खस्केको सामुदायिक शिक्षाको सुधार गर्न के-के गर्नुपर्ला भनेर अध्ययन गरी यथाशीघ्र रिपोर्ट पेस गर्न मधेस प्रदेशकै राजनीतिक दल र विज्ञहरूको टोली गठन गर्दै छु’, उनले भनेका छन्।
तत्कालीन सरकारले आर्थिक वर्ष ०६५/६६ मै २ वर्षभित्र निरक्षरता उन्मूलन गर्ने घोषणा गर्दै साक्षरता अभियान सुरु गरेको थियो। तर हालसम्म उक्त प्रतिबद्धता पूरा भएको छैन। अझ मधेस प्रदेशका त ८ जिल्ला- सिराहा, सप्तरी, पर्सा, बारा, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमध्ये एउटा पनि साक्षर घोषणा हुन सकेका छैनन्।



























Discussion about this post