•  २७ मंसिर २०८१, बिहीबार
  •  8:15:28 AM

४ कराेडमा बनेकाे बिद्यालय उदघाटन गर्न तेह्रथुम आउदै प्रधानमन्त्री ओली , जन्मस्थानकाे पनि अवलाेकन गर्ने

- मंसिर २६, २०८१ मा प्रकाशित



इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) तेह्रथुम जाँदैछन् । आठराईस्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि ओली हेलिकप्टरमार्फत आठराई आउन लागेको तेह्रथुमका प्रदेश सांसद किशोरचन्द्र दुलालले जानकारी दिए।

ओली बिहान साढे १० बजे तेह्रथुम आइपग्ने तेह्रथुमका सांसद सीता गुरुङले जानकारी दिएकी छन् । ओलीको स्वागतका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत एमाले र कांग्रेसका नेता इवा पुगेका छन् । ओलीको जन्मस्थान तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–४, इवास्थित श्री प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको दुलालको भनाइ छ । ओलीले सोही ठाउँमा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको पनि अवलोकन गर्नेछन् ।

उक्त भवन उद्घाटनका लागि कोरियन उम हङ गिल फाउन्डेशनका प्रतिनिधि पनि आठराई पुग्ने जनाइएको छ। ओलीले केही वर्षअघि आफ्नो जन्मथलोमा रहेको पुरानो घरको छेउमा हेलिप्याड निर्माण गरेका छन् । उनी त्यहीँ अवतरण गरेर विद्यालयतर्फ जाने कार्यतालिका रहेको छ । स्कूल भवनको निर्माण उम हङ गिल ह्युम्यान फाउन्डेशन, कोरियाको ४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारबाट २१ लाख ४० हजार र आठराई गाउँपालिकाको ६९ लाखको साझेदारीमा निर्माण भएको हो । फाउन्डेशनको उच्च लगानीमा बनेको भवन सबैपक्षको सहयोग गरी कुल ५ करोड पचास लाख हाहारीमा तयार भएको विद्यालयका प्रअ अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।

Comments

सम्बन्धित खवर