•  २६ मंसिर २०८१, बुधबार
  •  5:27:37 AM

तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ

- मंसिर २०, २०८१ मा प्रकाशित



इटहरी । कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपियासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेका छन् । सेउतीबाट तरहरातर्फ जाने देब्रेतर्फको सडक करिव दुई महिना अघि मात्र खोलिएको भए पनि भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवावपछि गत वर्षदेखि मात्रै एकतर्फी सुचारु भएको र पछिल्लो समय दुवैतर्फी गरिएको भए पनि यति चाँडै भत्किन थालेपछि पुनः नागरिकहरुले आवाज उठाउन थालेका छन् ।

बुधबार इन्जिनियरहरुसहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल काँग्रेस धरान नगर सभापति श्यम पोखरेल, धरान १८ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) तथा सञ्चारकर्मीहरुको टोलीले सेउतीदेखि तरहरासम्मको सडकको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा टोलीमा सहभागी इन्जिनियर मिथिलेश महतोका अनुसार सडकमा प्राविधिक त्रुटीहरु व्यापक रहेका छन् । सडकका धेरै स्थानमा सेग्रिगेशन (सडकको प्याचिङ खाल्डो) भएको छ । यसो हुनुमा विटविन (अलकत्र) र डस्ट (ढुङ्गाको धुलो) कम भएको वा तापक्रम नमिलाइएकोले भएको उनले बताए ।

सडकको कालोपत्रे (पिच) उप्किएको र मसिना मसिना टुक्रा उठेको अवस्था छ । अब यसलाई सच्याउनका लागि ठूला खाल्डा भएका सडकको भागलाई चारैतिरबाट कटिङ गरेर प्याचिङ कम्पेक्शन गर्नुपर्ने महतोले जानकारी दिए । टोलीमा सहभागी अर्का इन्जिनियर डि क्षेत्रीले यति ठूलो र अरबौँको आयोजनामा सडक विभागमा मात्रै भर परेकाले यस्तो गम्भिर कमजोरी भएको बताए ।

उनले यो आयोजनालाई अनुगमन गर्न कल्सल्टेन्ट नियुक्त गरिनु पर्नेमा त्यसो नहुँदा यस्तो लापरवाही भएको बताए । इन्जिनियरहरुका अनुसार कोशी राजमार्गको सडकको मोटाई १०० एमएम हो अहिले विछ्याइएको पिच ६० एमएमको हुनुपर्नेमा त्यसको मोटाइ समेत कम रहेको र हाल रहेको ६ं० एमएमको (डिभिएम) मै सडको पिच भत्किनु गम्भिर त्रुटी रहेको औंल्याएका छन् ।

उनीहरुका अनुसार अब डिभिएममा थप ४० एमएमको अक्सपाल्ड पिच थपिने भए पनि डिभिएममै पिच भत्किएपछि अक्स्पाल्ड पिचमै पनि समस्या आउने बताए । अनुगमनका क्रममा मजदुर नेता भीमज्वाला राईसँगको कुराकानीमा सडक डिभिजन कार्यालय विराटनगरका डिइ राजेन्द्र साहले भने, ‘प्राविधिक कमजोरी भएको हो यो, मानवीय त्रुटि भयो हामी सच्याउँछौँ । पानी परेको समयमा चिसो अक्स्पाल्ड पिच विछ्याइएकाले यो त्रुटि भएको हो हामीलाई सुधार्ने मौका दिनुपर्छ ।’

प्यासिफिक हिमदुङ्गा जेबी, काठमाडौं मुख्य ठेकेदार कम्पनी रहेको भए पनि पानीपिया सेउती पुलसम्मको काम भने मल्ल कन्स्ट्रक्शनले गरिरहेको छ । मुख्य कम्पनीका प्रोप्राइटर ठाकुरप्रसाद कँडेल भने फोन सम्पर्कमा आएनन् । मल्ल कन्स्ट्रकशनका प्रमुख प्रेम मल्लले कोशी प्रदेश सांसद विजयकुमार राईसंग कुराकानी गर्दै पिच गरे लगतै हेभी सवारीहरु छाडिदिएकाले पिच भत्किएको बताए । उनले प्राविधिक रुपमा बलियो हुनेगरी सुधार गरिने बताए । काम गर्दै जाँदा कमी भएकामा सच्याइने उनले बताएका छन् ।

माननीय रमेशकुमार बस्नेतसंग कुराकानी गर्दै साइड इन्जिनियर अर्जुन साहले जनताको गुनासो आउन नदिने गरी सडकलाई निर्माण गर्ने बताए । आफूहरु जनताको व्यापक गुनासोपछि अनुगमनमा आएकाले यस्ता कमजोरीले समाजमा समस्या उत्पन्न गराउने बताउँदै देखिने गरी सुधार हुनुपर्ने बताए । माननीय रमेशकुमार बस्नेतले हाल रहेको सडकको कोर कटिङ गरेर ल्याव परीक्षणपछि मात्रै बाँकी काम सुचारु गर्नुपर्ने बताए । त्यस्तै माननीय विजयकुमार राईका अनुसार जनसरोकारका यस्ता गम्भिर विषयहरुमा सरोकारी पालिका र जनप्रतिनिधिहरुको समेत सहभागीतामा पिचको काम गर्नु पर्ने बताए ।

त्यस्तै धरान १८ का अध्यक्ष प्रविण राईले यो लापरवाहीका कारण जनता जनप्रतिनिधिबीचको सम्बन्धलाई विवादमा ल्याउने गरेको बताए । नेकपा (एमाले) धरान उपमहानगर अध्यक्ष हर्कजंग एभेङले सडक जनताको जीवनसंग जोडिएकाले यस्तो लापरवाही क्षम्य नहुने बताएका छन् । नेपाली काँग्रेसका सभापति श्याम पोखरेलले यो गम्भिर लापरवाहीलाई तत्काल सच्याउन आग्रह गरे । उनले असावधानी वा नियत यस्ता कर्म अक्षम्य हुने बताए । यातायात मजदुर नेता भीमज्वाला राईले सडकको यस्तो लापरवाहीले सडक दुर्घटनाको जोखिम बढाउने बताउँदै श्रमिकहरु र आज जनताको जीवनमाथिको खेलवाड भएको बताए ।

Comments

सम्बन्धित खवर