•  २६ मंसिर २०८१, बुधबार
  •  5:28:39 AM

काेशी प्रदेशमा घरेलु हिंसा : सबैभन्दा बढी सुनसरीमा

- मंसिर २५, २०८१ मा प्रकाशित



इटहरी । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २५देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन हुने गरेको छ ।

वर्षेनि बढ्दै गएको महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ । लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३०सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको राष्ट्रिय महिला आयोगले जनाएको छ । यस अवसरमा झापामा पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

लाामो समयदेखि सरकारी तथा गैरसरकारी संघ–संस्थाले लैङ्गिक हिंसाविरुद्धको अभियान चलाइरहेका छन् तर वर्षेनि सरकारले हिंसाविरुद्ध चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसक्दा हिंसाका घटनाका कमी आउन सकेको छैन् । होटल र शहरी क्षेत्रमा मात्र कार्यक्रमहरु सीमित हुँदा वास्तविक पीडितले लामो समयसम्म न्याय पाउन नसकेका घटनाहरु बाहिर आउने गरेका छन् । घरेलु हिंसा, महिला हिंसा, यौनजन्य हिंसा लगायतका घटना अझै पनि बाहिर आइरहेका छन् । राज्यले हिंसा अन्त्यका लागि ठूलो रकम खर्च गरे पनि कार्यक्रमका लागि कार्यक्रम मात्र गरिँदा उक्त रकम दुरुपयोग हुने गरेको आरोप लाग्ने गरेको छ ।

घरमा भएका व्यक्तिले गरेको हिंसालाई घरेलु हिंसा भनिने बताइएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै सुनसरी जिल्लामा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरी जिल्लामा घरेलुहिंसाका घटनाका उजुरी धेरै दर्ता भएका छन् भने मोरङ र झापामा समेत यस्ता हिंसा बढ्दै गएको प्रहरीको तथ्याङ्कले पुष्टि गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७९/०८०मा सुनसरी जिल्लामा ६०४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका थिए ।

त्यस्तै मोरङमा २४८, झापामा १७२, उदयपुरमा १२५, पाँचथरमा ७०, सोलुमा ४४, ओखलढुङ्गामा ४२, संखुवासभामा ३१, ताप्लेजुङ र खोटाङमा २८–२८, इलाममा २०, धनकुटामा १८, तेह्रथुममा २०, भोजपुरमा २४ गरेर एक हजार ४७४ वटा उजुरी दर्ता भएका थिए ।

त्यस्तै २०८०/०८१मा झापामा १९८ वटा उजुरी दर्ता भएको छ भने इलाममा १०, तााप्लेजुङमा ३३, पाँचथरमा २३, मोरङमा ४२५, सुनसरीमा ६६४, धनकुटा र तेह्रथुममा १९–१९ वटा, भोजपुरमा १५, संखुवासभामा ३६, उदयपुरमा ११६, ओखलढुङ्गामा ३१, खोटाङमा २० र सोलुमा २३ वटा गरी एक हजार ६३२ वटा उजुरी दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

चालूआर्थिक २०८१/०८२को कात्तिक महिनासम्ममा झापामा ४६ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् भने इलाम र भोजपुरमा एक–एक, ताप्लेजुङमा ६, पाँचथरमा ८, मोरङमा १५५, सुनसरीमा ९७, धनकुटा र सोलुमा दुई–दुई, तेह्रथुम र संखुवासभामा तीन–तीन, उदयपुरमा ५०, ओखलढुंगा सात वटा उजुरी दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त अवधिमा खोटाङमा भने कुनै उजुरी दर्ता नभएको तथ्याङ्कमा उल्लेख गरिएको छ । हिंसा घरभित्रै हुने भए पनि भोग्ने व्यक्तिले घरेलु हिंसा हो भनेर थाहा नपाउँदा कतिपय हिंसाका घटना बाहिर नआएको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाभित्र एकै परिवारमा बसेका कुनै पनि व्यक्तिलाई दिइएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना पर्ने वरिष्ठ प्रहरी उपरीक्षक दाहालको भनाइ छ । घरेलु हिंसा भएको नब्बे दिनभित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गरिसक्नुपर्ने र नब्बे दिनपछि उजुरी गर्दा उजुरी दर्ता पनि नहुने र घटनासँग सम्बन्धित प्रमाणको लोप हुन सक्ने भएकाले हिंसा भएको नब्बे दिनभित्र उजुरी गर्नुपर्ने प्रहरीले जनाएको छ । त्यसैले घरेलु हिंसाभित्र पर्ने विभिन्न प्रकारका हिंसाहरु शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना वा आर्थिक यातना भएमा समयमै उजुरी गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

घरेलु हिंसामा महिला मात्रै पीडित हुन्छन् भन्ने हुँदैन, महिला पुरुष जोसुकै पीडित हुन सक्ने भएकाले पीडितले प्रहरीमा उजुरी गर्नु पर्ने प्रहरीले जनाएको छ । यस्ता घटनामा पीडितले चाहेमा उजुरी परेको ३० दिनभित्र मेलमिलाप गराउन सकिने तर, पीडितले मेलमिलाप गर्न नचाहेमा वा नभएमा अदालत पठाइने गरेको प्रहरीले जनाएको छ । विगतमा सामाजिक तथा पारिवारिक डर, त्रास र भयका कारण न्यायका लागि महिला प्रहरी र अदालतमा जान डराउँथे तर अहिले चेतना अभिवृद्धि भएसँगै महिला पनि न्यायका लागि स्थानीय निकायदेखि अदालतसम्म धाउन थालेपछि उजुरीको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

हत्या, अपहरण लगायतका अपराधमा कमी आए पनि घरेलु हिंसाका घटना बढ्दै गएको भन्दै प्रहरीले यसलाई न्यूनीकरणका लागि सबै पक्षले सचेतना अभियान सञ्चालन गर्नुपर्ने प्रहरीको भनाइ छ ।

Comments

सम्बन्धित खवर