इटहरी । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै इलाम र झापा जिल्लाका अन्तराष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । सोमबार साँझ ६ बजेदेखि बन्द गरिएका सीमा नाका मतदान प्रक्रिया नसकिएसम्म (वैशाख १०) गतेसम्म बन्द रहनेछन् ।
झापाको काकडभिट्टा पानीट्याङकी नाका र इलामको पशुपतिनगर नाकामा आवतजावत पूर्ण रूपमा रोकिएको छ । दार्जिलिङ जिल्ला प्रशासनको सूचनाका आधारमा सीमानाका सिल गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए । आधिकारिक रूपमा दार्जिलिङ प्रशासनले पत्रचार नगरेपनि विगतको प्रचलनलाई आधार बनाएर बोर्डर सिल भएको न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता मौसम उदासले बन्द गरिएको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जानकारी दिए । निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र दुवै देशबीच शान्ति–सुरक्षा कायम राख्न सीमा नाका अस्थायी रूपमा बन्द गरिएको उदासले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रविन जोशीले सीमा नाका बन्द भएको अवधिभर सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिए पनि आकस्मिक स्वास्थ्य सेवा तथा अत्यावश्यक कामका लागि भने परिचयपत्रका आधारमा आवागमनमा सहजीकरण गर्ने बताए ।

























Discussion about this post