इटहरी । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ।आज आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा व्यक्त गर्ने गरिन्छ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरूभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।
दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाख कृष्ण औंसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए।
मातातीर्थमा मेला
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ। मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। मातातीर्थमा अहिले तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ।मातातीर्थमा बिहान ३ः०० बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले राससलाई जानकारी दिए।
आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन्। मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ। मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ। हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ।जात्रा व्यवस्थापनका लागि मातातीर्थ मेला व्यवस्थापन समितिलगायत स्थानीय सामाजिक सङ्घसंस्था परिचालन भएका छन्।

























Discussion about this post