एजेन्सी । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प्रति ब्यारेल ८८ डलरसम्म झरेको छ । यसअघि ९८ डलरभन्दा माथि पुगेको थियो।
इरानको दक्षिणमा रहेको साँघुरो हर्मुज जलमार्गबाट विश्वभर तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुँदै आएको छ। अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरु गर्नुअघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० डलरभन्दा कम थियो। झण्डै तीन महिना अघि फेब्रुअरी २२ मा युद्ध सुरु भएको थियो भने मार्चमा मूल्य ११९ डलरभन्दा माथि पुगेको थियो।
विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीचको युद्धविराम अवधिभर हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजका लागि मार्ग खुला गरिएको बताए ।यद्यपि जलमार्ग खुला गरिएको घोषणा भए पनि जहाजहरूको आवागमन सीमित रहेको बीबीसीले जनाएको छ। जहाजहरूले सुरक्षित लेन प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। अमेरिका र इरानबीचको युद्धविराम अप्रिल २२ मा समाप्त हुने तय छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको घोषणालाई स्वागत गर्नुभएको छ। तर शान्ति सम्झौता नहुँदासम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताए । यसअघि पाकिस्तानमा भएको अमेरिका–इरान वार्ता निष्कर्षविहीन बनेको थियो।पाकिस्तानसहितका मध्यस्थकर्ता देशहरूले दोस्रो चरणको वार्ताका लागि पहल जारी राखेका छन्। इरानको पछिल्लो घोषणा इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सहमति भएपछि आएको हो।
























Discussion about this post