•  २१ बैशाख २०८१, शुक्रबार
  •  6:30:44 PM

अस्पताल भवनको ठेक्का सेटिङमा भएको आशंकापछि प्राधिकरण प्रमुखको राजीनामा

- चैत्र १५, २०७८ मा प्रकाशित


बुटवल: लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डरमा आर्थिक अनियमितताको शंका उब्जिएपछि प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराम घिमिरेले राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा उनले देशप्रति गद्दार गर्नुभन्दा मान्छे भएर बस्ने उल्लेख गरेका छन् । सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान भएको थियो । राजीनामा दिनुअघि उनले टेण्डर प्रक्रिया रद्द गरेका छन् । करिव ६ अर्व रुपैयाँ लागतको यो भवनका लागि खरीद ऐन विपरित टेण्डर आह्वान भएको खुलेपछि आर्थिक अनियमितताको आशंका उव्जिएको हो ।

प्राधिकरणका प्रमुख घिमिरेले राजीनामा दिएपछि टेण्डरमा अनियमितता भएको आशंकामा थप बल पुगेको छ । घिमिरेलाई मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष योजनाका साथ प्राधिकरण प्रमुखमा नियुक्त गरेका थिए । 

प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणका लागि टेण्डर आह्वान गर्दा सेटिङ मिलाएर गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका थिए । यसका लागि प्राधिकरणले दुईवटा निर्माण व्यवसायी कम्पनी बाहेक अरुले प्रतिष्पर्धा गर्नै नपाउने गरी स्पेसिफिकेशन गरिएको थियो । निर्माण व्यवसायी महासंघले प्राधिकरणले सटिङ गरेर टेण्डर आह्वान गरेको र यसमा ठूलो आर्थिक चलखेल हुन सक्ने आशंका गरेको थियो । यसका विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा परेको थियो भने अख्तियारमा पनि छानविनका लागि उजुरीहरु परेका थिए ।

टेण्डर रद्द गरिएको र राजीनामा दिएकोबारे प्राधिकरण प्रमुख घिमिरे सम्पर्कमा आउन चाहेनन् । प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले करिव पाँच अर्व रुपैयाँ लागतको टेण्डर आह्वान गरेको भएपनि सीमित निर्माण कम्पनी छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकोले टेण्डर रद्द गरिएको बताए । सार्वजनिक खरीद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम टेण्डर रद्द गरिएको पौडेलले जानकारी दिए ।  “अव सबै प्रक्रिया पु¥याएर विवादमा नआउने गरी टेण्डर आह्वान गरिने छ”–उनले भने । 

राजीनामा पत्रमा घिमिरेले ७०० करोडको ठेक्कामा प्रतिष्पर्धा हुँदा र नहुँदा राज्यलाई करिव १५० करोडको क्षति हुनसक्ने अनुमानसहित अस्पतालको टेण्डर रद्द गरेको बताएका छन् ।  प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार रमेश शर्माको शर्मा र रसुवा जेभीले बाहेक अन्यले प्रतिष्पर्धामा भाग लिन पाउँदैनथे । प्राधिकरणले गत फागुन २ गते अस्पतालको भवन निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

ठेक्कामा एउटा  मात्रै कम्पनी छनोट हुने अवस्था रहेको संकेत गर्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले नमूना बोलपत्रको  प्रावधान विपरित ठेक्का नलगाउन प्राधिकरणलाई ध्यानाकर्षणपत्र नै पठाएको थियो । 

प्राधिकरणले विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा दुई हजार वर्गमिटरभन्दा बढीको दुई तले बेसमेन्ट बनाएको अनुभव मागेको थियो । यदि नेपाली कम्पनी एक्लै प्रतिष्पर्धा गर्ने भए ६ हजार वर्गमिटरमा दुई तले बेसमेन्ट निर्माण गरेको अनुभव मागेको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर