कुरिलोले आम्दानी नदिँदा किसानलाई चिन्ता
- चैत्र २, २०७८ मा प्रकाशित
झापाः कोरोना भाइरस सङ्क्रमणदर झापामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् ।
जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् ।
दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिकजसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । कोभिडको संक्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए ।
‘कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझे र यसको प्रयोग गरे,’ उनले भने, ‘अरु तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएका कारण बिक्री हुन छाड्यो ।’ योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो । सुरुका दिनमा प्रतिकिलो एक हजार ४०० रुपैयाँमा बिक्री गरेको कुरिलो हाल थोक मूल्य ४०० मा बिक्री गरिरहेको किसानको भनाइ छ ।
योङहाङले दैनिकजसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्लाबाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत जैविक हुने भएपनि अन्य तरकारीको तुलनामा महँगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताए ।
उनले मेहनत गरेर उत्पादन गरेको कुरिलोको टुसा नास हुन नदिन सस्तो दरमा बजारमा बिक्री गर्ने योजना बनाइरहेको जानकारी दिए । ‘खेर जान दिनुभन्दा त सस्तो मूल्यमा बिक्री गरेपनि थोरै आम्दानी त हुन्छ,’ उनले भने, ‘निराश छैनौं बजारको खोजीमा छौं, कुरिलोको गुण र महत्वका बारेमा पनि उपभोक्तालाई जानकारी गराइरहेका छौं ।’ -रासस
सम्बन्धित खवर
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments