•  १२ श्रावण २०८१, शनिबार
  •  10:17:43 AM

१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…

- जेष्ठ ६, २०८१ मा प्रकाशित



खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडें । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गरे ।

उनको जीवनमा फेरि खुशी फर्किएको छ । १०२ वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुशी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उनका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो ।

नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा. दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो । दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहारा बिनै हिँडडुल गर्न सक्ने भएका छन् । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुशी हुँदै शिविर वरपर हिँडडुल गरे । गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उनमा खुशीको सीमा छैन ।

‘अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ’, उनले खुशी हुँदै भने । शल्यक्रियापछि पुनः संसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिए । आँखा देखेपछि खुशीका आँशु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए । ‘मलाई परमेश्वरले फेरि खुशी दिनुभयो मेरो लागि तपाईहरु सबै जना परमेश्वर हुनुहुन्छ’, सहरमानले भने ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी बताए । सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

Comments

सम्बन्धित खवर