•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:49:58 PM

प्रेस युनियन सुनसरीद्वारा पत्रकारहरुका लागि निःशुल्क आँखा तथा कान शिविर आयोजना

- फाल्गुन १९, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरीमा सञ्चारकर्मी र उनीहरुका परिवारजनका लागि एकदिने निःशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन सुनसरीको आयोजना तथा राष्ट्रिय फोटो पत्रकार संघ सुनसरीको सहआयोजनामा सम्पन्न शिविरमा सुनसरी जिल्लालाई आधार क्षेत्र बनाई पत्रकारिता गर्ने पत्रकार तथा उनीहरुका परिवारजन गरी कुल एक सय ४० जनाको आँखा तथा कानको परीक्षण तथा आधारभूत औषधि एवं चस्मा वितरण गरिएको थियो । शिविर आयोजक सँस्था प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार शिविरमा १५ महिनादेखि ७५ वर्षसम्मका लाभग्राहीहरुले सेवा लिएका थिए ।

कम्प्युटरमा निरन्तर काम गर्ने पत्रकारहरुमा आँखा तथा कानको समस्या उत्पन्न हुने गरेको अवस्थालाई विचार गरी शिविर सञ्चालन गरिएको उनले बताए । शिविर सञ्चालनका लागि मोरङको विराटनगरस्थित विराटनगर आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो । शिविरमा अग्रज पत्रकार हर्ष सुब्बा , कृष्णविनोद लम्साल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का सहित विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुले आँखा तथा कान जाँच गराएका थिए ।

कोरोना कहरका समयमा समेत प्रेस युनियनले पत्रकारहरुको कोरोना विमा , संक्रमितहरुका लागि मोवायल डाक्टर कार्यक्रम अन्तरगत चिकित्सक स्वास्थ्यकर्मी सहित औषधी तथा परामर्श सेवा समेत सञ्चालन गरेको थियो । त्यसै गरी पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि मास्क ,सेनिटाइजर वितरण , खाद्यान्न राहतका देखि लिएर जिल्लाका सञ्चारकर्मीहरुका लागि दुर्घटना विमा समेत प्रेस युनियन सुनसरीले गराएको छ ।

Comments

सम्बन्धित खवर