•  २१ बैशाख २०८१, शुक्रबार
  •  4:50:59 AM

लेटाङको जङ्गलमा विभत्स अवस्थामा बालिकाको शव फेला

- फाल्गुन १३, २०७८ मा प्रकाशित


इटहरीः ​​​​​​​मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहीरा सामुदायिक वनभित्र गाडेको अवस्थामा स्थानीय ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव फेला परेको छ ।

खाल्डोभित्र निर्वस्त्र अवस्थामा रहेको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डिएसपी) मञ्जिल मुकारुङका अनुसार प्रहरीले उत्खनन गरेर उनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका बुधबारबाट बेपत्ता रहेकोमा आज उनको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट देखिएकाले बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने आशङ्का छ । हत्यामा संलग्न रहेको आशंकामा दुई जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी मुकारुङले बताए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि रहस्य बाहिरिने छ ।

Comments

सम्बन्धित खवर