•  ७ जेष्ठ २०८१, सोमबार
  •  8:09:23 AM

सप्तरीका ग्रामीण भेगका महिलाहरू घरमै सुत्केरी हुँदै

- माघ २२, २०७८ मा प्रकाशित


सप्तरी: सप्तरीको महदेवा गाउँपालिका १ कि २२ वर्षीया कविता रजकले यहीँ पुस महिनामा दोस्रो सन्तान छोरीलाई घरमै जन्म दिइन्। उनी पहिलो पटक पनि घरमै सुत्केरी भएकी थिइन्। रजकले भनिन्,´ दुई छोरीलाई घरमै जन्म दिएपनि गर्भवती हुँदा दुवैको पालोमा दुई पटक डाक्टरसँग चेकजाँच गराएकी थिए।`

सुत्केरी हुने दिन बिहान ४ बजेदेखि तल्लो पेट दुख्यो । बिहानै सासुले सुडेनीलाई बोलाएर ल्याउनुभयो।सुडेनीले अस्पताल लानुपर्दैन्।एक छिनमै घरमै बच्चा जन्मिन्छ भने पछि अस्पताल तिर नगएर बच्चा जन्मिने पर्खाइमा परिवारका सबै सदस्य बसेको कविताले बताइन् । उनले थपिन्,´नभन्दै  बिहान आठ बजे सजिलै सुत्केरी भए । उनी ८ कक्षासम्म पढेकी छिन् । उनको परिवारमा कोही पनि शिक्षित छैनन् ।

सुत्केरी गराउन अस्पताल नै जानुपर्छ भन्ने मान्यता परिवारको कुनै सदस्यको नरहेको कबिताको भनाइ छ । उनकि जेठानीले पनि तीन सन्तान घरमै जन्माएको उनले बताइन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका कन्कट्टाकी ३२ बर्षिया सुनिता रजकले आफ्ना तीन सन्तानलाई घरमै जन्म दिइन् ।

उनले भनिन्,´कान्छो छ‍ोरा छ महिनाको भयो। घरमा सजिलै सुत्केरी भए।` गर्भवती भएको बेला पनि उनले एक पटक पनि डाक्टर सँग चेक जाँच गराएकी थिइनन्। नत कुनै औषधी नै खाएकी थिइन् ।

त्यस्तै राजविराज नगरपालिका १ डुमरीकी ममता यादवले आफ्नो पहिलो सन्तानलाई यहि पुसको पहिल‍‍ो हप्ता घरमै जन्म दिइन्।

उनले भनिन्,´गर्भवती भएको थाहा पाएपछि डा.संग जाँच गराएकी थिए ।` त्यसपछि स्वास्थ्यमा कुनै समस्या नआएपछि पुनःजाँचको लागि डा. कोमा नगएको ममताले बताइन् ।

उनले थपिन्,´हाम्रो गाउँमा अहिले पनि ५० प्रतिशत सुत्केरी घरमै हुने गरेका छन् ।

जानेर वा नजानेर अहिलेपनि हाम्रो जिल्लाको ग्रामीण भेगका अशिक्षित परिवारले अहिले पनि घरमै सुत्केरी गराउने गरेको अवकाश प्राप्त सिनियर स्टाफ नर्स रेखा देवले बताइन् । उनले भनिन्,´ कतिको त सुत्केरी हुन नसकेपछि जटिल समस्या भएर र कति सुत्केरी भएर आमा वा शिशु वा दुबै जटिल अवस्था अस्पताल आउने गरेका छन् ।

गर्भवती भएपछि कम्तिमा पनि चार पटक चेक जाँच गराउनु पर्छ।आमा र शिशुको ज्यान जोखिम हुन नदिन अस्पतालमा नै सुत्केरी गराउनुपर्ने चाहना नेपाल सरकारको  चाहना रहेको र आमा र बच्चा पनि अस्पतालमै सुरक्षत हुने भएपनि कतिपनि परिवारले त्यसो नगरेर अझै आलटाल गर्दै आएको प्रसुति रोग बिशेषज्ञ डा. उषा देव बताउँछिन् ।

अस्पतालमा सुत्केरी गराएपछि आमा सुरक्षा कार्यक्रम अनतर्गत सुत्केरी गराई निशुल्क, घर फर्किने बेलामा यातायात बापत १ हजार रूपैयाँ दिने प्रावधान रहेको स्वास्थ्यकर्मी मनिषा सिम्खडाले बताइन् ।

उनले भनिन्,´ सुत्केरी महिलाको रगत ओ निगेटिभ छ, भने सुत्केरी भएको ७२ घण्टा भित्र दिनुपर्ने सुई पनि अस्पतालले निशुल्क लगाई दिन्छन् ।

अस्पतालले डिस्चार्ज गर्ने बेलामा बर्थ सकिपिकेट दिन्छ।त्यो  पनि एउटा पहिचानको ठूलो आधार हो । त्यसैले ज्यानलाई जोखिममा पारेर घरमा सुत्केरी हुनु भन्दा अस्पताल हुन अत्यन्तै जरुरी रहेको महिला स्वास्थ्य स्वयं सेविका पुनिता कर्णले बताइन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर