•  २१ बैशाख २०८१, शुक्रबार
  •  2:09:34 AM

प्रधानमन्त्रीले मुस्किलले पाए तेस्रो पटक विश्वासको मत : पक्षमा १५७ मत पर्दा , विपक्षमा ११० मत

- फाल्गुन ३०, २०८० मा प्रकाशित


इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट विश्वासको मत पाएका छन् । आज (बुधबार) प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको हो । प्रतिनिधिसभामा २६८ जना उपस्थित थिए । एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे ।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनज ना स्वतन्त्र सांसद ( प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चाले मत दिएनन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका हु्न् ।

प्रचण्डले यसअघि २६ पुस २०७९ मा पहिलो पटक र ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए । दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए । फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिएका हुन् । नेकपा एमाले,माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायतले प्रधानमन्त्री प्रचण्डलाई भोट हाल्न ह्विप नै जारी गरेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक थियो ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, जसपाका १२ र नेकपा एकीकृतका १०, जनमतका ६,लोसपाका ४ जना, नागरिक उन्मुक्तिका ४, नेपाल मजदुर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, स्वतन्त्र ३ जना सांसद छन् । जसमध्ये कांग्रेस सांसद टेकबहादुर गुरूङ र एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् भने इलाम–२ मा सुवास नेम्बाङको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुँदैछ ।

Comments

सम्बन्धित खवर