•  ७ जेष्ठ २०८१, सोमबार
  •  5:38:49 AM

इटहरीका वडा वडामा बाल संगीत छनौट कार्यक्रम आज बाट

- कार्तिक १७, २०८० मा प्रकाशित


इटहरी । इटहरीका प्रत्येक वडाहरूमा संगीत साधना प्रतिष्ठान नेपालले बाल गायन प्रतिभा छनोट कार्यक्रम गरिरहेको छ । यहाँका २० वटै वडाबाट बाल संगीत प्रतिभा उजागर गर्ने उद्धेश्यले स्थानीय वडामै गएर बालबालिकाहरुलाई भेला गरी छनोट गर्ने कार्यक्रम सञ्चालन गरिरहेको हो ।

८ देखि १८ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित यो कार्यक्रममार्फत् छनोट भएका प्रतिभाहरुलाई प्रशिक्षण तथा मन्च दिने योजना प्रतिष्ठानको रहेको महासचिव राजु केसीले जानकारी दिए ।

‘बालबालिकासग सङ्गीत साधना’ नाम दिइएको अभियानअन्तर्गत आज शुक्रबार १४, १५, १६ र १७ नं. वडाको छनौट दिउँसो १ बजेदेखि १६ नं. वडा कार्यालयमा गरिनेछ । यस्तै वडा नं. १८ र १९ को छनौट १८ गते शनिवार जब्दि मावि अमाहामा गरिनेछ भने कार्तिक २० गते सोमबार बिहान ११ बजेदेखि इटहरी रङ्गशालामा वडा नं. ६, ७, ८ र ९ का बालबालिकाहरुलाई र कार्तिक २२ गते बुधवार बिहान ११ बजेदेखि खनार रेडक्रस भवन इटहरी १२ मा वडा नं. १०, ११, १२ र १३ का बालबालिकाको गायन तथा वाद्यवादन प्रतिभा छनोट गरिने कार्यक्रम रहेको छ । सहभागि हुन बालबालिकाहरुले कुनै शुल्क तिर्नुपर्दैन ।

कार्यक्रमको लागि इटहरीका वडा कार्यालयहरुले सहयोग गरेका छन् । ‘कला साहित्य संगीतलाई बुझ्ने वडाध्यक्षहरुले सहयोग गर्नुभएको छ,’ केसीले भने ।

इटहरीमा संगीतको संस्थागत विकासका लागि संगीत साधना प्रतिष्ठानको प्रभावकारी भुमिका रहेको छ । प्रतिष्ठानले संगीत विकासका विभिन्न गतिविधिहरु गर्नुका साथै इटहरीमा संगीत साधना महाविद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रतिष्ठानले सहयोगी दाताहरुबाट एक ईँटा अभियान सञ्चालन गरी इटहरी २ मा आफ्नै तीन तले भवनसमेत निर्माण गरिरहेको छ । जसमध्ये पहिलो तलाको निर्माण सम्पन्न भइ त्यहीँ विभिन्न गतिविधि गरिरहेको छ । सरकारको थोरै, व्यक्तिगत दाताहरुको धेरै सहयोगमा उक्त भवन निर्माण हुन सकेको हो ।

‘सरकारले जति तदारुकताका साथ सहयोग गर्यो, हामी त्यती छिटो महाविद्यालय सञ्चालनमा ल्याउँछौं र देशभरका कलाका विद्यार्थीहरुलाई इटहरीमा संगीत सिकाउन सक्छौं,’ केसी भन्छन्, ‘निर्माणाधिन भवनलाई तीन तला नै पुरा गर्नलाई सरकारको लगानी आवश्यक छ ।

Comments

सम्बन्धित खवर