•  २० बैशाख २०८१, बिहीबार
  •  5:19:10 AM

हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र

- भाद्र २२, २०८० मा प्रकाशित


हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शैंयामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।

प्रदेश सरकारको लागतमा स्थापना गरिएको उक्त केन्द्रबाट अस्पतालका सबै शैंयामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए । पाइपबाट शैंयासम्ममै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, सघन उपचार कक्षमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको उनको भनाइ थियो । उक्त केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न जिल्ला बाहिर नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्ने बाध्यता अन्त हुनाका साथै समय र खर्चको बचत भएको छ । अक्सिजन प्लान्टले एक दिनमा १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्नसक्छ । एकपटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

आइपुग्यो एम्बुलेन्स
भारत सरकारले एक वर्ष अगाडि सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा सो एम्बुलेन्स ल्याइएको थियो ।

एम्बुलेन्स आइपुगेपछि स्थानीयवासी खुसी भएका छन् । अब सेवाग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पुर्‍याउनु पर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीले बताए । नेपाली कांग्रेसका पूर्वजिल्लासभापति जयपति रोकायाले काठमाडौँबाट सिमकोटसम्म एम्बुलेनस ल्याउन पहल गरेका थिए । एम्बुलेन्स जिल्ला अस्पतालसम्म आइपुग्न रु सात लाख ढुवानी खर्च लागेको थियो ।

Comments

सम्बन्धित खवर