•  ८ जेष्ठ २०८१, मंगलवार
  •  11:28:16 AM

इलामकाे सुर्याेदय नगरपालिकामा सिसाकाे पुल सहितकाे साइकलमार्ग बन्ने

- भाद्र १, २०७९ मा प्रकाशित


इलाम । इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो । सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग निर्माण हुने बताइएको छ ।

सुरुमा परियोजनाको कूल लागत रु सात करोड ५५ लाख अनुमान गरिए पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत रु १० करोड पुग्ने छ । सो मार्गले स्थानीय चार हजार आठ सय ७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ ।

एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउने छन् ।नगरपालिकाको रु सात करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवद्र्धन साझेदारी कोषको रु एक करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको रु एक करोड लागतमा साइकलमार्ग निर्माण हुनेछ ।

गत जेठ ११ गते नगरपालिका र नवप्रवद्र्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक्ट तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा एक सय ५० मिटर लामो सिसाको पुल निर्माण गरिने गदालको भनाइ छ । साथै लोपोन्मुख लेप्चाजातिको सङ्ग्रहालय स्थापना गरिने छ । परियोजनाको मन्युमेन्ट पार्क, हेल्थ पार्क र चारवटा शौचालय निर्माण गर्ने योजना रहेको छ ।

साइकल मार्ग जिल्लाकै नयाँ परियोजना भएको बताइएको छ । जिल्लामै पर्यटकका लागि नयाँ उत्पादनका रूपमा विकास गर्न सकिने यो कार्यक्रमलाई नगरपालिकाले नै सञ्चालन गर्ने बताइएको छ । यो साइकलमार्ग निर्माण भएपछि नेपाली साइकलयात्री मात्र नभई विदेशबाट समेत पर्यटकहरु यहाँ आउने अपेक्षा गरिएको छ ।

Comments

सम्बन्धित खवर