•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:50:08 PM

इलामका दुई स्थानीय तहमा लिम्बू भाषालाइ सरकारी कामकाजको भाषा बनाइयाे

- असार १३, २०७९ मा प्रकाशित


इलाम । लिम्बू जातिको बाहुल्य रहेको इलामका दुई स्थानीय तहले लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाएका छन् । जिल्लाको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने भएका छन्।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै माङसेबुङको ११ औं गाउँसभा र चुलाचुलीको १० औं गाउँसभामा आगामी आर्थिक वर्षदेखि लिम्बू भाषालाई पालिकाभरि स्थानीय सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने घोषणा गरिएको हो । 

यसअघि माङसेबुङ र चुलाचुलीले परीक्षणका रूपमा आ–आफ्नो पालिकाका एक–एक वटा वडामा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्न सुरू गरेका थिए। 

यसपटक दुवै गाउँपालिकाले एकैपटक पालिकाभरि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए।

माङसेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू जाति छन् भने ३६ प्रतिशत राई जातिको बसोबास छ । चुलाचुली गाउँपालिकामा पनि लिम्बू जातिकै बाहुल्य छ । लिम्बू भाषालाई सरकारी कामकाजीका रूपमा प्रयोग गर्ने माङसेबुङ र चुलाचुली गाउँपालिकाले किरात सिरिजंगा लिपि प्रयोग गर्ने पनि बताएका छन्।

जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले वडा नम्बर ५ मा ०७५ सालबाट र चुलाचुलीले २०७७ सालबाट नम्बर १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरेका थिए।

ती वडाले आफ्नो कार्यालयको साइनबोर्ड, कार्यालयको लेटरप्याड, छाप एवं विभिन्न अनुसूची फारमहरूमा समेत लिम्बू भाषा र किरात सिरिजंगा लिपि प्रचलनमा ल्याइसकेका छन्।

Comments

सम्बन्धित खवर