•  ६ जेष्ठ २०८१, आईतवार
  •  3:00:08 AM

गायिका सुनार मृत्यु प्रकरण : श्रीमान संग सम्बन्ध बिग्रिएपछि ‘लिभिङ टुगेदर’ रहेकाे खुलाशा

- असार १२, २०७९ मा प्रकाशित


काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको हत्या आशंका गरिएको छ । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी गायिका सुनारको मोबाइल र पासो लगाएको सल अझै फेला परेको छैन । प्रहरीले उनको आत्महत्या नभई हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

स्थायी घर सुर्खेत भएकी सुनार शनिबार बिहान पौने ११ बजे कोठामा मृत भेटिएकी थिइन् । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन । मोबाइल समेत फेला परेको छैन । त्यसतै उनले झुण्डिदा प्रयोग गरेको भनिएको सल पनि भेटिएको छैन । उनले आफैंले स्टाटस लेखिन् वा अरू कसैले भन्नेमा पनि प्रहरी अनुसन्धान केन्द्रित छ ।

मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढी निवासी सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । दिलमाया पक्राउ परेका सूर्यसँगै ‘लिभिङ टुगेदर’ मा बस्दै आएको खुलेको छ । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठा बाहिर देखिएको पाइएको प्रहरी अधिकारीले बताएका छन् ।

सूर्यले अर्को विवाह समेत गरेको बताइएको छ । सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको बताइएको छ । अनुसन्धानका क्रममा यसअघि पनि दिलमायाले एक पटक आत्महत्याको प्रयास गरेको खुलेको छ । उनलाई अस्पताल लगेर बचाइएको थियो । त्यति बेला पनि सूर्य श्रेष्ठसँगै थिए ।

प्रहरीले प्राविधिक पाटोबाट घटनाको अनुसन्धान अगाडि बढाएको छ । सूर्यको मोबाइल, उनको उपस्थितिलगायत विषयलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी थिइन् । उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । विवाहित थिइन् । तर, पतिसँग सम्बन्धविच्छेद पछि उनी केही वर्षयता ‘लिभिङ टुगेदर’ मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएको बताइएको छ ।

Comments

सम्बन्धित खवर