•  ६ जेष्ठ २०८१, आईतवार
  •  3:00:10 AM

बिर्तामोड उद्योग वाणिज्य संघद्वारा अध्यक्षसहित पक्राउ परेका व्यवसायीलाई तत्काल रिहा गर्न माग

- असार ९, २०७९ मा प्रकाशित


झापा । बिर्तामोड उद्योग वाणिज्य संघले पक्राउ परेका अध्यक्षसहित सबैलाई बिना शर्त रिहा गर्न माग गरेको छ । केही दिनदेखि बिर्तामोडस्थित बुधबारे हटियाका व्यवसायीलाई विद्युत मिटरको माग गर्दै आन्दोलन गर्दै आएको वाणिज्य संघले आज आन्दोलनकै क्रममा अध्यक्षसहित ११ जनालाई प्रहरी पक्राउ गरेपछि बिना शर्त रिहाईको माग गरेको हो ।

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाई, व्यवसायीहरु सन्तोष उप्रेती, कल्पना पुरी न्यौपाने, कल्पना खरेल निरौला, नरबहादुर विक, एकता कडरिया बिष्ट, तुलसा तामाङ र निरु अधिकारीलाई बिर्तामोडस्थित नगरपालिका गेटबाट पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई बिना शर्त रिहा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने वाणिज्य संघले चेतावनी दिएको छ ।

महासचिव अर्जुनकुमार मैनाली र जनसम्पर्क उपाध्यक्ष नैनाकला भट्टराईद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ– ‘वाणिज्य संघ वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्दै बुधबारे हटियाका व्यवसायीलाई विद्युत मिटर उपलब्ध गराएर व्यवसायीका मागलाई सम्बोधन गर्न स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग आग्रह गरेको छ ।’

वाणिज्य संघले शान्तिपूर्ण रुपमा गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । बुधबार वाणिज्य संघको कार्यालयमा बसेको आकस्मिक बैठकले अध्यक्षसहित सम्पूर्ण व्यवसायीलाई रिहा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

Comments

सम्बन्धित खवर