•  ७ जेष्ठ २०८१, सोमबार
  •  7:52:28 AM

फाेहाेरलाइ माेहर बनाउदै दमक नगरपालिका , ग्यास उत्पादनको सफल परीक्षण

- असार ७, २०७९ मा प्रकाशित


झापा । झापाको दमकमा फोहोरबाट ऊर्जा (ग्यास) उत्पादनको सफल परीक्षण भएको छ । दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक बिमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो ।

दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले २० करोडभन्दा बढीको लागत परियोजनामा चार वर्षअघि काम शुरु भएको थियो ।

फोहोरबाट ऊर्जा उत्पादन कार्यक्रम अन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने लक्ष्य नजिक पुगेको खतिवडाले बताए । तर उत्पादनपछि बजारीकरणको चिन्ता शुरु भएको उनको भनाइ छ । ग्यास त उत्पादन शुरु भयो तर यसको बिक्रीको समस्या छ– उनले भने ।

दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रको हाताभित्र रतुवा खोला किनारमा फोहोर प्रशोधन केन्द्रमा ऊर्जा उत्पादनका लागि आवश्यक संरचना स्थापना भइसकेको छ । नेक्स्टइरा इनर्जीका अध्यक्ष् युवराज घिमिरेका अनुसार २०७६ साल माघ १० गते निर्माणका लागि सम्झौता भएर सोही वर्षको चैतदेखि काम शुरु भएको थियो ।

कूल २० करोड ५९ लाख रुपैयाँको लागत सम्झौतामध्ये पाँच करोड ८८ लाख रुपैयाँको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी रहेको छ । कम्पनी आफैँले १४ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । परियोजनाको अवधि उत्पादन भएको मितिले २० वर्ष रहेको छ ।

कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुने र उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप वा सिलिण्डरमार्फत वितरण गरिएको छ । यो परियोजनाबाट दैनिक करिब एक हजार ८४ किलोग्राम बायोग्यास उत्पादन गर्न सकिन्छ । ग्यासका साथै अहिलेको अवस्थामा दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल र सरदरमा सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सकिने पनि घिमिरेले जानकारी दिए ।

दमक नगरपालिकाको वातवरण तथा सरसफाई शाखाका अनुसार दमक क्षेत्रमा दैनिकजसो १५ देखि २० टन फोहोर उत्पादन हुने गरेको छ । यसको करिब ७५ प्रतिशतमात्र सङ्कलन हुने गरेको छ । यसमा ६६.५२ प्रतिशत जैविक फोहोर रहेको छ ।

Comments

सम्बन्धित खवर