•  २१ बैशाख २०८१, शुक्रबार
  •  12:30:17 AM

धनकुटाको महालक्ष्मी नगरपालिका ६ को वडाध्यक्षमा गठबन्धले उठायो दलित उम्मेदवार

- बैशाख २३, २०७९ मा प्रकाशित


इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ को वडाध्क्षको उम्मेदवारका रुपमा गठबन्धनले दलितलाई अघि सारेको छ । नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य ५१ वर्षी शिवराज विश्वकर्मा गठबन्धनबाट उम्मेदवार बनेका हुन् । जिल्लाका सात स्थानीय तहका ६० वडामा वडाध्यक्षका लागि उनी नै एक मात्र दलित उम्मेदवार बनेका हुन् ।

आफू दलित समुदायको भएपनि योगदान र क्षमताको आधारमा सबै जनताको साझा उमेदवारको रूपमा आफूले टिकट पाएको उनी बताउँछन् । दलित समुदायमा सक्षम नेतृत्वदायी गर्ने नेता भएपनि समावेशीभन्दा बाहिर निस्किन नसकेको उनको विचार छ ।

“मलाई विश्वास गर्न सकिन्छ भनेर कांग्रेसले टिकट दियो । कांग्रेसभन्दा बाहेकका पार्टीले पनि अरुलाई टिकट दिएको भएर आज धेरै जना दलित नेताहरू उम्मेदवारको रूपमा उभिन्थे होला,” दलित समुदायलाई अवसर नदिएकोमा दुःख व्यक्त गरे, “तर त्यो हुन नसक्दा दुःख लागेको छ ।”

घरदैलोमा भोट माग्न पुग्दा मतदाताले दिएको साथ, आशीर्वाद र जितको शुभकामनाले भने उनलाई उत्साहित बनाएको छ । गत निर्वाचनमा नेकपा (एमाले)का उमेदवारसँग पराजित शिवराज यसपटक आफूले जित्नेमा विश्वस्त छन् । र, त्यसको प्रमुख आधार हो–गठबन्धन ।

अघिल्लो २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उठेका थिए । तर, एमालेका डम्बरबहादुर कार्कीसँग ८ मतले पराजित भएका थिए । वडाध्यक्षमा विजयी कार्कीले ३ सय ३ मत प्राप्त गर्दा विश्वकर्माले २ सय ९५ मत प्राप्त गरेका थिए ।

यस पटक पनि फेरि दुवैजना प्रतिस्पर्धामा उत्रिएका छन् । यी दुईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले एक्लै चुनावी मैदानमा छ । नेपाली कांग्रेसलाई भने माओवादी केन्द्र, जसपा र नेकपा (एस)सहितको गठबन्धनको साथ छ ।

Comments

सम्बन्धित खवर