काठमाडाैं । मुम्बईको वानखेडे स्टेडियममा इटालीविरुद्ध विश्वकपको दोस्रो खेल खेलिरहेको नेपालले सामान्य रनको लक्ष्य दिएको छ। विकेट पतन रोक्न नसकेको नेपालले कमजोर मानिएको टोलीविरुद्ध २० ओभरमा १२३ रन मात्र बनाएको हो। इटालीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको नेपाली टोली ३ बलअगावै १ सय २३ रनमा अलआउट भयो।
समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले इटालीविरुद्धको पहिलो इनिङसमा बिर्सनलायक प्रदर्शन गर्यो। लामो सट खेल्ने धुनमा रहेका नेपाली ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको खेलमा नेपाली टोलीले खराब ब्याटिङ गरेपछि नेपालले सामान्य लक्ष्य दिएको हो।
आरिफ शेखले बनाएको २७ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट नै भए। करण केसी १८ रनमा अविजित रहे।१८ बलमा १७ रन बनाएका दीपेन्द्र सिंह ऐरी क्रिएसन कालुगामागेको बलमा बोल्ड आउट भए। २० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७.२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरको हातबाट आउट भए।
सातौँ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल २३ रनमा क्याच आउट भए। १४ बलमा २ छक्का प्रहार गरेका कप्तान रोहित क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टको हातबाट क्याच आउट नै भए। दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए। १० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे।
सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए। लोकेश बम र गुल्सन झा समान ३ रन बनाउँदा क्याच आउट नै भए। नन्दन यादव शुन्य रनमा नै रनआउट भए। इटलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। समुह सी मा रहेका नेपाल र इटाली पहिलो जितको खोजीमा छन्। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। इटालीले भने स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको थियो।




























Discussion about this post