इटहरी डेस्क । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालवीरलाई अध्यक्ष तोकेको हो ।
बर्दिया– २ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमलाल चौधरी पक्ष भनिएपनि यो सम्पूर्ण हिसाबले चौधरीबाट निर्देशित समूह हो । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रकरणमा मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।
रञ्जितालाई आफूमाथि लागेको आरोपबारे राष्ट्रिय भेलामा आएर स्पष्ट पार्न आग्रह गरिए पनि त्यसको बेवास्ता गरेको कारण हटाइएको रेशमको भनाई छ । ‘हामीले पटक–पटक उहाँमाथि लागेको आरोपबारे भेलामै आएर स्पष्ट पार्न भन्यौँ, ’ उनले भने, ‘रञ्जिताजी भेलामा नआएपछि पार्टीले नयाँ नेतृत्व चयन गरी निकास दिएको हो ।’
यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो। काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो ।
रेशम पक्षले छनोट गरेका अध्यक्ष लालवीरले रञ्जिताले डेढ वर्षसम्म पनि पार्टी बैठक नबोलाएको भन्दै उनले निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको बताए । ‘उहाँले जति पनि अभिव्यक्ति दिनुभएको छ । उहाँलाई हामीले कम्तीमा पनि उपस्थित भइदिनुस् भनेका थियौं । पार्टी सदस्यले उहाँप्रति लगाइएका ब्लेम (आरोप) प्रति फेस गर्न पार्टी तयार छ,’ उनले भने, ‘अझै पनि उहाँलाई यो पार्टीले धेरै पर राखेको छैन । मात्रै निकासका लागि मात्रै अघि बढेको छ ।
अवैध तरिकाले अध्यक्ष चुनियो : श्रेष्ठ
यसैविच श्रेष्ठले आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी गरेकी छिन् । पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले ‘अवैध’ भेला गरी नाउपाको नयाँ अध्यक्ष चयन गरेको श्रेष्ठको आरोप छ । भनिन्, ‘यो अवैध छ । म कानुनी प्रक्रियामा जान्छु । यस्तै लफडाले नाउपाका सांसदहरूको कानुनी अवस्था के हुन्छ ?’
श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण समेत सोधेकी छिन् । पार्टीको केन्द्रीय कार्यालयको लेटरहेड प्रयोग गरी जारी तीन पृष्ठ लामो पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय नपाएका बेला संसदीय दलका नेता चौधरीले विधानविपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।
आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।
पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेश गरिएका दस्तावेजअनुसार चौधरीले एकल निर्णयबाट गर्न नपाउने भन्दै श्रेष्ठले चौधरीसँग लिखित जवाफ माग गरेकी छन् ।



























Discussion about this post