भक्तपुर । नेकपा (एमाले) का सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले सुरक्षा निकाय र न्यायपालिकामाथि गम्भीर तथा संगीन आरोप लगाएका छन् । उनले वर्तमान सरकार स्वयं लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने षड्यन्त्रमा संलग्न रहेको दाबी गरेका हुन् ।
बस्नेतले सुरक्षा निकायले हिमाली जिल्लामा चुनाव सम्भव छैन भन्ने बहाना बनाउँदै निर्वाचन चैत वा वैशाखको अन्तिमतिर सार्ने योजना बनाएको आरोप लगाए । ‘हिमाली जिल्लामा चुनाव सम्भव छैन भनेर चैत वा वैशाख अन्तिमतिर सारेर त्यहीँ दौरानमा प्रहरी र सेनाका ब्यारेक तथा क्याम्पहरूमा मतपेटिका राखेर कसलाई हराउनुपर्ने कसलाई जिताउनुपर्ने भनेर हिसाबकिताब गर्ने भन्ने तहको षड्यन्त्रमा स्वयं सरकार संलग्न छ’, बस्नेतले गम्भीर आरोप लगाउँदै भने, ‘यो कुराको पुस्ट्याइँ स्वयं प्रधानमन्त्रीले राष्ट्रिय सभामा गरेको सम्बोधनबाट भएको छ ।’
न्यायपालिकाप्रति पनि कडा टिप्पणी गर्दै बस्नेतले प्रधानन्यायाधीश नै रहस्यमय रूपमा सम्पर्कविहीन हुने, फोन अफ गर्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको बताए । ‘आज पनि पेसी चढ्छ भनेर हामीले आस गरेका थियौँ, फेरि सर्यो । प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसले हामी निकै ठुलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ’,बस्नेतले भने, ‘हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ ।’
उनले यस्तो अवस्थाले नेपाल ठूलो वैदेशिक आक्रमणको चपेटामा परेको पुष्टि हुने जिकिर गरे । “हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै होइन, समग्र न्यायिक प्रणाली नै जलिरहेको अनुभूति भइरहेको छ,” बस्नेतको भनाइ छ । बस्नेतले सुरक्षा निकाय र न्यायपालिकामाथि देखिएको यस्तो प्रवृत्तिले लोकतन्त्र, निष्पक्ष निर्वाचन र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै नागरिक र सरोकारवाला सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।



























Discussion about this post