इटहरी । सुनसरीको झुम्कास्थित कारागारमा दुई जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरानका २४ वर्षीय सागर राई रहेका छन्।रामदेव उराँव कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए भने सागर राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा उनको सोमबार बिहान १२:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।त्यस्तै, सागर राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै भर्ना गरिएको थियो। उनको पनि मंगलबार बिहान ८:३० बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुवै मृतकको शव आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।एकै दिन दुई कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति, सुनसरीको टोलीले झुम्का कारागारको अनुगमन गरेको छ।
समितिले तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न र कैदीहरूको स्वास्थ्य विवरण संकलन गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए। उनले गम्भीर स्वास्थ्य समस्या भएका कैदीलाई स्थानान्तरण गर्ने योजना पनि रहेको जानकारी दिए।हाल झुम्का कारागारका दुवै ब्लकमा गरी कुल १,७९४ जना कैदी रहेका छन्।



























Discussion about this post