•  ९ पुष २०८१, मंगलवार
  •  12:16:26 AM

माघ १९ बाट बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण

- पुष ८, २०८१ मा प्रकाशित



धरान। बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण माघ १९ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी पूरा भएको जानकारी सोमबार धरान फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत दिएको हो।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगितामा करिब ८० लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, भने अनुमानित आम्दानी एक करोड दुई लाख २५ हजार रुपैयाँ रहेको छ। उनले बुढासुब्बा गोल्डकपलाई रोजगारमुखी र व्यवसायमुखी बनाउनका लागि योजनाबद्ध रुपमा काम गरिरहेको बताए।

कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले धरान फुटबल क्लबले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले नेपाली फुटबलको इतिहासमा नयाँ योगदान पुर्‍याएको बताए। २०५५ सालमा सुरु भएको यो प्रतियोगिता कोभिड महामारीका कारण दुई वर्ष स्थगित भए पनि त्यसपछि नियमित रुपमा सञ्चालन हुँदै आएको छ।

प्रतियोगितामा नेपालका चर्चित क्लबहरू, भुटान फुटबल क्लब एकाडेमी, युके एफसी (भारत) लगायतका १० टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमहरूमा चर्च ब्वाईज क्लब, एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, ईटहरी जागृत क्लब, मच्छिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र आयोजक धरान फुटबल क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ, सर्वाधिक गोलकर्ता खेलाडीलाई ३५ हजार रुपैयाँ, र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, उत्कृष्ट विधाका खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

उपविजेताले प्राप्त गर्ने पाँच लाख रुपैयाँ धरान–१५ निवासी तथा हाल पोर्चुगलमा बस्दै आएका अरुण राईले प्रदान गर्नेछन्। गत वर्षको विजेता एनआरटी क्लब काठमाडौं र उपविजेता जिल्ला फुटबल संघ मोरङ थिए।

Comments

सम्बन्धित खवर