इटहरी । अमेरिकी सरकारले नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अघि बढाउने निर्णय गरेको छ ।नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाएको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिए ।
अमेरिकी सरकारले गरेको समीक्षा बैठक अनुसार नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसीसी परियोजना निरन्तरता गर्ने निर्णय गरेको उनले बताए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको प्रशासनिक खर्च कटौती गर्ने निर्णय अनुसार गत अप्रिलमा एमसीसी बन्द गर्ने निर्णय गरेको थियो । नेपालसहित २० मुलुकमा सञ्चालित यो कार्यक्रमलाई ३ महिनाका लागि स्थगित गरिएको थियो ।
तर, नेपालमा भने एमसीसी कार्यक्रम कहिल्यै नरोकिएको शर्माले बताए ।अमेरिकी दूतावासका अनुसार ५० करोड अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६८ अर्ब ५० करोड रुपैयाँ) बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९ करोड ७० लाख अमेरिकी डलर (करिब २७ अर्ब रुपैयाँ) को योगदानले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा टेवा पुर्याउँछन् ।
सुरुमा एमसीसीले नेपालको प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधार आयोजनाका लागि भन्दै ५० करोड डलर अनुदान दिने गरी नेपाल र अमेरिकाबीच सम्झौता (कम्प्याक्ट) मा हस्ताक्षर भएको थियो । त्यसमा नेपाल सरकारले १३ करोड डलर योगदान गर्ने उल्लेख थियो । एमसीसीको सहयोगमा बन्ने परियोजनाका लागि त्यति रकम अपुग हुने भएपछि नेपालले आफ्नो योगदान बढाएर १९ करोड ७० लाख डलर पुर्याएको छ ।
त्यति रकमले पनि प्रसारण लाइन परियोजना लागत अनुसार अपुग हुने भएपछि गत जनवरी २ मा एमसीसीको बोर्डले नेपाललाई थप ५ करोड डलर दिने भनेर निर्णय गरेको थियो । त्यसबारे उसले अमेरिकी कंग्रेसलाई पनि जानकारी गराएको थियो ।
तर, त्यो रकम आउने–नआउने विषयमा भने अहिलेसम्म स्पष्ट छैन । ‘थप ५ करोड डलरबारे नेपालको मन्त्रिपरिषद्ले पनि निर्णय गर्नुपर्छ, जुन भएको छैन, त्यसो हुँदा रकमबारे अहिल्यै भन्न सकिने अवस्था छैन,’ अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख शर्माले भने ।



























Discussion about this post