इटहरी । सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि धरानमा मतदान जारी छ। आज बिहान ८ बजेबाट संघको कार्यालय परिसरमा मतदान सुरु भएको हो। संघको अध्यक्ष पदका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा भइरहेको छ। एकतर्फ गोपाल श्रेष्ठ र अर्कोतर्फ शिवराज श्रेष्ठले आ–आफ्नो टिमसहित उम्मेदवारी दिएका छन्।
निर्वाचनमा कुल २ हजार ९ सय ७ जना मतदाता सहभागी छन्। तीमध्ये वाणिज्यतर्फ १ हजार ७ सय ८४, उद्योगतर्फ ९ सय ६२, एशोसिएटतर्फ १ सय ४० र बस्तुगततर्फ २१ जना मतदाता रहेका छन्।
गोपाल श्रेष्ठको टिममा रहेका मुख्य उम्मेदवारहरूमध्ये छन् –
उद्योगतर्फ कृष्णप्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल र महेन्द्र प्रधान।
वाणिज्यतर्फ अनिल अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा लगायत आठ जना उम्मेदवार छन्।
वाणिज्य महिला तर्फ वर्षा अग्रवाल उम्मेदवार छिन्, भने एशोसिएटतर्फ अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल छन्।
शिवराज श्रेष्ठको टिमबाट भने –
वाणिज्यतर्फ अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, सागर प्रसाई लगायत ६ जना प्रतिस्पर्धामा छन्।
महिला तर्फ ममता शाक्य, उद्योगतर्फ उमेश अग्रवाल, खड्गबहादुर बस्नेत (राजु) र शिवनन्द साह छन्।
एशोसिएटतर्फ राजु साह र राजेश अग्रवाल उम्मेदवार छन्।
मतदानस्थलमा व्यापारीहरूसँगै विभिन्न राजनीतिक दलका नेता र जनप्रतिनिधिको पनि उल्लेख्य उपस्थिति देखिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ, र मतगणना आज साँझबाट सुरु हुने अपेक्षा गरिएको छ।



























Discussion about this post