इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–३ खरीटोलदेखि करिब ८ सय मिटर दक्षिण भारततर्फ पर्ने सीमाक्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
आज (बुधबार )बिहान अन्दाजी २:४५ बजेको समयमा केही व्यक्तिहरुले टाउकोमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १६० केजी (६ पोका) तयारी अवस्थामा रहेको प्रतिबन्धित लागुऔषध गाँजा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्द किशोर प्रसाद महतोको कमाण्डमा खटिएको ५ जना र सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको कमाण्डमा खटिएको ५ जना गरी जम्मा १० जनाको संयुक्त टोलीले गस्तीका क्रममा उक्त गाँजा फेला पारेको थियो।
प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरु सामान छाडी फरार भएको जनाइएको छ। बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवा, सुनसरीमा राखिएको छ।
घटनाबारे जानकारी पाउनेबित्तिकै सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले आवश्यक विवरण संकलन गरी सार्वजनिक गरेको जनाए । फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

























Discussion about this post