इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रतिनिधि सभाअन्तर्गतका विषयगत र संयुक्त गरी ११ वटा समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।
बिहीबार रास्वपा सांसदले प्रतिनिधि सभाका नौ वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा उम्मेदवारी दिएका हुन्। प्रतिनिधि सभामा विषयगत १० र संयुक्त दुई वटा समिति छन्। सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो।
रास्वपाको तर्फबाट कानून, न्याय तथा मानवअधिकार समितिमा सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दिएका हुन्।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेद्वारी दर्ता गराएका छन्।
प्रतिनिधि र राष्ट्रिय सभाअन्तर्गतको संयुक्त समिति संसदीय सुनुवाई समितिको सभापतिमा वोधनारायण श्रेष्ठले उम्मेद्वारी दिएका छन्। अर्को, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्कीले मनोनयन दर्ता गराएको संसद् सचिवालयले जनाएको छ।


























Discussion about this post